
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न आज गोदावरी नगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोग बिच सम्झौता भएको छ । आयोगमार्फत यसअघि भएका कामलाई पुनः अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता भएको हो।
यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको आयोग संग गोदावरी नगरपालिकाले २०७७ पुस २ गते सम्झौता गरेको थियो ।

जसअनुसार अत्तरियामा भूमि सम्बन्धी समस्या समाधान आयोग लागत संकलन एकाई स्थापना गरी आयोगका अध्यक्ष ज्ञवालीले नै उद्घाटन गरेका थिए ।
उक्त सम्झौता अनुसार नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम गरिएको थियो । जसअनुसार गत बर्षको फागुन ४ गतेदेखि भएको लगत संकलनमा नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ ।
पछि केन्द्रमा सरकार परिवर्तन भएसंगै प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकाले साउन १९ गते मन्त्रिपरिषद् बैठकबाट भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेकापछि गोदावरीमा पनि आयोगका सबै काम रोकिएको थिए ।
पुनः देउवा सरकारले भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि आयोगका काम अगाडी बढेका छन ।
सोही अनुसार रोकिएका काम अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता भएको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताएकी छिन ।












