काठमाडौँ – प्रधानसेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरूलाई निर्वाचन लक्षित सुरक्षामा लाग्न निर्देशन दिएका छन्।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट प्राप्त जिम्मेवारी कार्यान्वयन गर्न आइतबार प्रधानसेनापति शर्माले निर्देशन दिएका हुन्। शर्माले सेनाका विभागीय प्रमुखहरूको उपस्थितिमा चारवटै कमान्डका कमान्ड सेनापतिहरूलाई विशेष निर्देशन दिए।
आ-आफ्नो जिम्मेवारी क्षेत्रहरूको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षानिकाय तथा जिल्ला निर्वाचन आयोगका कार्यालयसँग प्रभावकारी समन्वय गरी कार्य गर्ने उनले निर्देशन दिएका हुन्।
साथै देशैभरि उच्च सतर्कताका साथ रहन र बम डिष्पोजल टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन उनले दिएका छन्।