चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्न आयोगको आग्रह
काठमाडौँ – निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ।
बुधवार विज्ञप्ति जारी गर्दै आयोगले राजनीतिक दललगायत सम्बन्धित सबैलाई चुनाव चिह्न अंकित पहिरन वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक प्रचार–प्रसार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न आह्वान गरेको हो।
‘आचारसंहिताको दफा ४ को (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था रहेको छ’, विज्ञप्तिमा भनिएको छ।
आयोगले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्स लाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका उत्पादन नगर्न\नगराउन अनुरोध गरेको छ।