
काठमाडौं – विश्व समुदायको चेतावनी तथा सुझावलाई नजरअन्दाज गर्दै रुसी सैन्य ट्याङ्कहरू युक्रेनका सडकमा गुड्न थालेको एक वर्ष भएको छ । फेब्रुअरी २४ युक्रेन र रुसका धेरैलाई आफ्ना प्रियजन गुमाउन थालेको दिनको रुपमा सम्झना आउने लगभग पक्कापक्की छ । त्यसमा पनि विशेष गरी युक्रेनी जनताले फेब्रुअरी २४ लाई आफ्नो देशलाई तहसनहस बनाएको कालो दिनको रुपमा अनन्तकालसम्म सम्झिरहनेछन् ।
रुस-युक्रेन युद्धको एक वर्षे कालखण्डमा दुवै देशले कम्तिमा नौदेखि १६ हजार हाराहारी सैनिक गुमाएको बताइन्छ । अमेरिकाले सबैतर्फका दुई लाख हाराहारीको ज्यान गएको अनुमान गरेको छ । लाखौं विस्थापित भएका छन् । निश्चित तथ्यांक थाहा नभए पनि सार्वजनिक तथ्यांक वास्तविकताभन्दा धेरै पर रहेको विश्व समुदायको मान्यता छ । एक वर्षदेखि चलिरहेको यो युद्ध कहिले रोकिन्छ भन्ने अनुमान अहिले नै गर्न सकिने अवस्था छैन ।

हालसम्मका घटनाक्रमलाई मध्यनजर गर्दा जारी युद्धमा आणविक हतियारको समेत प्रयोग हुन सक्ने विश्व समुदायको चिन्ता छ ।






























