काठमाडौं – सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।
दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले दिवसका अवसरमा हुने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
कोभिड–१९ महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको छ। बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ। विशव पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। विश्वव्यापी रुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए।
सन् २०२१ मा ५५ हजार ४४७ पर्यटक नेपाल आएका थिए। सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख २० हजार ८५ मात्र छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।