अत्तरिया – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म २३ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ८ सय ७४ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ८ हजार ६ सय १५ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार सिंह एमालेका उम्मेदवार भण्डारीभन्दा २ सय ५९ मतले अगाडि छन् ।
त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार २ सय १५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय १० मत ल्याएका छन् । बझाङमा अस्ति शनिबार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।
२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएको थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।
त्यस्तै इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत ल्याएका छन् । एमालेका सुहाङ कांग्रेसका खड्काभन्दा २६ सय १८ मतले अगाडि छन् ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ६ सय ३४ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ३ सय ५ मत आएको छ । २१ हजारभन्दा धेरै मतगणना भैसक्दा एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ४० र राप्रपाका लक्ष्मी गुरुङको ४६ मत आएको छ ।
इलाम २ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।