
नेपाल आज एआइ, रोबोटिक्स, डाटा साइनस, डिजिटल इकोनोमी र आधुनिक प्रविधिको युगतर्फ अघि बढिरहेको छ । संसार च्याट जिपीटी र अटोमेसनको बहसमा छ । शहरहरू स्मार्ट बन्दै छन् । तर यही देशको सुगम जिल्ला कैलालीको सुगम स्थानीय तह गोदावरी नगरपालिका–४ फुलबस्ती जस्ता गाउँहरूमा आज पनि आधारभूत आवश्यकता पुरा भएको महशुस गर्नु सपना जस्तै बनेको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको केन्द्रविन्दु गोदावरी नगरपालिकाको अत्तरिया बजारबाट करिब दुई घण्टा जिपको यात्रापछि पुगिने फुलबस्तीलाई बत्तिमुनीको अध्यारो छ ।
स्थानीय सरकार आएको ९ वर्ष बितिसक्दा पनि फुलबस्तीसम्म जोड्ने सडकको अवस्था अहिले पनि दयनीय छ । आजसम्म पनि यो ठाउँका नागरिक बाह्रै महिना सडक संजालसंग जोडिन सकेका छैनन् । वर्षा लागेपछि बाटो हिलाम्मे हुन्छ, यात्रा जोखिमपूर्ण बन्छ, र ४–५ महिना गाउँ नै बेखबर बन्न पुग्छ । गोदावरीदेखि फुलबस्ती पुग्न अहिले पनि धेरै मानिसहरू ३–४ घण्टा पैदल हिँडेर दैनिक उपभोग्य सामग्री किनेर पिठ्युमा बोकेरै घरसम्म लैजान बाध्य छन् ।

सडकको सुविधा नहुँदा यहाँका उत्पादनले बजार नै पाउन सकेका छैननन् । त्यहाँका स्थानीयहरूको मुख्य पेशा कृषि, बाख्रा पालन, कुखुरा पालन, गाईभैँसी पालन र खेतीपाती नै हो । गाईभैँसीको घिउ, मौरीको मह, खसी–बाख्र, सिजनको बेला पाइने तामा, अमला, जंगली आँप, बिक्री गर्न गोदावरी, खानिडाँडा र अत्तरियासम्म यहाँका स्थानीय पैदल नै पुग्नुपर्ने बाध्यता छ ।
फुलबस्ती र यहाँ वरीपरीका गाउँको सञ्चारको अवस्था झन् पीडादायी छ । गाउँबाट करिब ६ किलोमिटर टाढा पल्लो डाँडामा राखिएको नेपाल टेलिकमको नाम मात्रैका टावरले नेटवर्क दिएको छ । २–३ वर्षअघिसम्म पनि आफन्त वा साथीभाइसँग फोनमा कुरा गर्नुपरे नेटवर्क टिप्ने डाँडा वा रुखको टुप्पोमा चढ्नुपथ्र्यो ।
गोदावरीलाई सुगम स्थानीय तहको सूचिमा राखिएको देख्दा त्यसबेला आफू अनागरिक नै भएको महसुस हुन्थ्यो । वर्षौंसम्म “फुलबस्तीमै टावर राखिदिनुस्” भनेर स्थानीयले टेलिकमसंग आग्रह गरे । पछि टावर बन्ने चर्चा सुन्दा गाउँ खुशी भयो, तर त्यो टावर त बुढीतोला जङ्गलमा राखेर राजमार्गको सडकलाई लक्षित रहेछ । पटकपटकको आग्रहपछि अहिले फेरी हामीलाई आश्वासनमा राखिएको छ ।
डिजिटल नेपालको सपना बोकेको देशमा अझै “घाम लागेपछि मात्रै फोनको नेटवर्क आउने” वास्तविकता छ । बिजुली पुगेको भनिए पनि थ्रि फेज बिजुली नहुँदा स्थानीयहरू आज पनि दुःख भोगिरहेका छन् । मकै, गहुँ पिस्न र दैनिक कामकाजका लागि करिब २ घण्टा बोलेरो गाडि चडेर लालपुरको गौडीसम्म पुग्नुपछ ।
२० किलो गहुँ पिस्न ६००–७०० रुपैयाँसम्म गाडीभाडा खर्च गर्नुपर्छ । बिजुली लाइन तान्दै गर्दा दिगो बिकासको अवधारणा लिएर काम गरेको भए स्थानियले खानिपानीको लागि सोलार सिस्टम बाट लिप्टिङ्ग र मिलमा कुटानीपीसानी गर्न दिनभरीको बाटो धाउनुपर्ने बाध्यता हट्ने थियो ।
दुखजिलो गरेर कमाएको पैसाले मोटरसाइकल किनौँ भने घर त छोडौँ गाउँसम्म पुग्ने सडक छैन । दिनमा जम्मा दुईवटा गाडी चल्ने भएकोले यहाँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । संविधानले नै सुनिश्चित गरेका आधारभूत आवश्यकता उपयोग गर्न पनि फुलबस्तीका बासिन्दालाई सपना नै हुने भयो ।
सरकारबाट अनुमतिमात्रै पाएको नगरपालिकाले शिक्षक वयवस्थापन गरेको एउटा आधारभूत विद्यालय छ तर त्यहाँ न ह्वाइट बोर्ड , न कुनै फर्निचर र अन्य शैक्षिक सामग्री । न विद्यालयमा खानेपानी नै छ ।
स्थानीय सरकारसँग २–३ पटक ह्वाइट बोर्ड, खानेपानीको ट्यांकीको लागि सिफारिस गर्दा पनि कुनै समाधान नआएको विद्यालयको गुनासोपछि एक समाजसेवीले केहि दिनअघि मात्रै ह्वाइट बोर्ड सहयोग गरे । पायक पर्ने स्थानमा विद्यालय शिक्षासमेत पुरा पढ्न पाउने वातावरण नहुँदा यहाँका बालबालिकाहरु जसोतसो ८ कक्षा पास गरेर कामको खोजीमा भारत पस्न बाध्य छन् ।
तर यति समस्या हुँदाहुँदै पनि फुलबस्तीमा सम्भावना छैन भन्ने होइन । यदि आधारभूत पूर्वाधार र सरकारी निकायको ध्यान पुग्ने हो भने यो ठाउँ कृषि, बसोबास र पर्यटनका हिसाबले निकै सम्भावनायुक्त छ । यहाँको वातावरण शान्त छ, गर्मी महिनामा पंखा चलाउनुपर्ने अवस्था हुँदैन । राति तराईको झिलिमिली दृश्य हेर्दा छुट्टै आनन्द महसुस हुन्छ ।
त्यहाँ रहेको भगवती मन्दिर धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थल हो । धेरै वर्षअघि त्यहाँ बसोबास गरेका पुस्ताका मानिसहरू अहिले पनि चैते दशैं र अन्य विशेष समयमा पूजा गर्न गाउँ फर्किन्छन् । प्राकृतिक हिसाबले पनि यो क्षेत्र सुरक्षित छ । उचित सडक, सञ्चार, खानेपानीसहितका सुविधा व्यवस्थापन हुने हो भने फुलबस्ती जस्ता गाउँहरू ग्रामीण पर्यटनको राम्रो केन्द्र बन्न सक्छन् ।
नेपाल काठमाडौंको मात्रै होइन । नेपाल त फुलबस्ती, बान्द्रेसाल र यस्तै सयौं ग्रामीण बस्तीहरूको पनि साझा देश हो । विकास भनेको केवल शहरमा ठुला र अग्ला भवन हुनु मात्रै होइन । विकास त्यतिबेला महसुस हुन्छ, जब गाउँको बिरामी समयमै अस्पताल पुग्छ, विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछ, किसानले उत्पादन बेच्न सहज बाटो पाउँछ, र एउटा गाउँले नागरिकले सञ्चार र यातायातको सुविधा सहज रूपमा उपयोग गर्न सक्छ ।
त्यसैले अबका युवा, विकासवादी जेन जेड, नीति निर्माण गर्ने व्यक्तिहरु र सम्बन्धित निकायसँग विनम्र अनुरोध छ — कृपया यता पनि ध्यान दिनुहोस् । देश काठमाडौं मात्रै होइन, फुलबस्ती पनि हो । हामी एआइ र आधुनिक प्रविधिको भविष्यको कुरा गरिरहँदा देशका धेरै नागरिक अझै आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सञ्चार र यातायातबाट बञ्चित छन्।
जबसम्म ग्रामीण भेगका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने आधारभूत सुविधा पाउँदैनन्, तबसम्म नेपालको वास्तविक विकास अधुरै रहनेछ । सरकारसँग एउटा मात्रै आग्रह छ । काठमाडौंको समस्या मात्रै हेरेर नेपाललाई नबुझिदिनुहोस्। नेपालका नागरिकहरु यस्ता विकट गाउँहरुमा पनि बस्दछन् ।













