
बुटवल – अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मंगलबार ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

उनका अनुसार पर्वतबाट सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेको यात्रु सवार बस दुर्घटनामा परेको हो । करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । प्रहरीले घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।












