अत्तरिया – नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीसहितको टोलीले गत माघ १ गते हरैया विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन गर्यो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने हरैया विशेष आर्थिक क्षेत्रको अवलोकनका लागि मन्त्री भण्डारी विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर कटुवालसहित पुगेका थिए ।
अवलोकनकाक्रममा मन्त्री भडारीले उक्त क्षेत्रमा छिटै घेरबारको काम सुरु गरिने र घेरबारका लागि एक करोड बजेटको व्यवस्था गरिएको पनि बताएका थिए । पूर्वाधार निर्माणका लागि कानुनमा भएको जटिलताहरु यहि आउँदो अधिवेशनमा संसोधन गरिने मन्त्री भण्डारीको भनाई थियो ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत कटुवालले कागजातहरु इआइएका लागि वन विभागमा पठाइएको र स्वीकृत हुनेबित्तिकै काम अगाडि बढाइने तथा केहि दिनमै सम्बन्धित सरोकारवाहरुसंग गोष्ठीको आयोजना गरिने बताएका थिए ।
हरैया सेजको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को फाइल २०७९ माघमै वन मन्त्रालयमा पठाइएको थियो । इआइए गरिएको क्षेत्रमा जैविक करिडोर परेपछि उक्त फाइल वन मन्त्रालयमै अड्किएको छ ।
इआइए गरिएको क्षेत्रमा जैविक करिडोर परेको जानकारी २०८१ चैत्र पहिलो साता वन मन्त्रालयले गराएको सेजका प्रमुख कार्यकारी अधिकृत कटुवालले बताएका छन् ।
“इआइए गरिएको क्षेत्रमा जैविक करिडोर परेकोले पुन: इआइए गर्न वन मन्त्रालयले अघिल्लो साता मात्रै (चैत्र पहिलो साता) जानकारी गराएको छ, अब कसरी अगाडि बढ्ने भनेर छलफल गछौँ” उनले भने ।
२०७८ सालमा घोषणा भएको हरैया सेजका लागि आर्थिक वर्ष ७८/७९ मा ४ अर्ब १८ करोडको डिपीआर तयार गरिएको थियो । २३० दशमलव ८६ हेक्टरमा निर्माण गरिने भनिएको हरैया सेजमा ७६ वटा प्लट बन्ने बताइएको थियो ।
सुर्योदय सामुदायिक वन, शान्ति सामुदायिक वन,लक्ष्मी सामुदायिक वन र गोलादेउ सामुदायिक वन गरी चारवटा सामुदायिक वनमा क्षेत्रमा बन्ने भनिएको सेजको २०७६ मा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि अवलोकन गरेका थिए ।