धनगढी उपमहानगरको बजेट दुई अर्ब ५६ करोड

Image
maya metro

अत्तरिया – धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि दुई अर्ब ५६ करोड ४ लाख बराबरको बजेट ल्याएको छ । शनिबार बसेको १३ औं नगरसभामा नगर उप प्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ५६ करोड चार लाखको बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ एक अर्ब ३८ करोड २५ लाख ५१ हजार र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख बजेट छुट्याइएको छ ।

बजेट स्रोत विवरण अनुसार उपमहानगरको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार १११ रुपैयाँ रहेको छ । राज्यबाट प्राप्त बाँडफाँड ५७ करोड ६० लाख ६२ हजार १४३ रुपैयाँ छ भने, संघीय सरकारबाट ९९ करोड ९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ११ करोड २२ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ । साथै मौज्दात रकम ३३ करोड ३२ लाख ९५ हजार ७४६ रुपैयाँ छ ।

nisarga

चालु आर्थिक वर्ष २०८१\८२ मा उपमहानगरपालिकाले २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । जसअन्तर्गत जेठ मसान्तसम्म १ अर्ब ८१ करोड ५ लाख ८४ हजार ७२२ रुपैयाँ खर्च भइसकेको उपमहानगरले जनाएको छ । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा ३७ करोड ६२ लाख ३३ हजार ७८० ले बढि बजेट ल्याएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १७ दशमलव २२ प्रतिशतले बढी हो र उपमहानगरपालिकाले ल्याएको बजेट शनिबारकै नगरसभाबाट सर्वसम्मत रूपले पारित गरिएको छ । यसअघि शनिबारकै नगरसभामा नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपमहानगरपालिकाले दलित अभियन्ता ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वृद्र्वि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धन गर्न कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजारसम्मको स्टेश्नरी सामाग्री निःशुल्क उपलब्ध गराउनेछ । कक्षा ११\१२ देखि स्नातकसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्यनका लागि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले तेह्रौँ अधिवेशनमा ’हाम्रो धनगढी, हामी बनाउछौ’, “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, “आमा बचाउ कार्यक्रम, निःशुल्क अपाङ्गता सहायता सामग्री वितरण, “हाम्रो धनगढी, सफा धनगढी, “हरियाली प्रवर्धन कार्यक्रम, “शनिवारीय महिला उद्यम बजार, ‘उज्यालो धनगढी’ कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिईएको छ ।

यस्तै, ‘एक वडा, एक आर्थिक क्षेत्र’, सामाजिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, ‘हाम्रो धनगढी, सफा धनगढी’, हरियाली प्रवर्धन कार्यक्रम, सीप तथा रोजगार मेला, सन्ध्याकालिन बजार, ‘जहाँ खाली, त्यहाँ हरियाली, हर घडी, नगर प्रहरी, पढ्दै कमाउदै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’, हाम्रो धनगढी, हामी बनाउँछौँ,’ लगायत रहेका छन् ।