कैलाली र कञ्चनपुरका सुनचाँदी व्यवसायीद्धारा अत्तरियामा प्रदर्शन

Image
maya metro

अत्तरिया – कैलाली र कञ्चनपुरका सुनचाँदी व्यवसायीहरुले कैलालीको अत्तरियामा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै एक महिनादेखि आन्दोलीत भएका सुनचाँदी व्यवसायीहरूले आज अत्तरियामा प्रदर्शन गरेका हुन् ।

अत्तरियामा परेको वर्षाको समेत वेवास्ता गर्दै उनीहरुले अत्तरिया बजारमा र्याली निकालेका थिए भने अत्तरिया चोकमा पुगेर कोण सभा गरेका थिए । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्था हटाउन माग गर्दै सुनचाँदी व्यवसायीहरूले देशैभर प्रदर्शन गरिरहेका छन् ।

nisarga

विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको उनीहरुको भनाई छ । कोण सभालाई सम्बोधन गर्दै सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिमका प्रवक्ता रुपक सुनारले बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

सरकारले हाल लागू गरेको करको व्यवस्थाले उपभोक्तालाई मात्रै नभई व्यवसायी र कालिगडको जीवनमा समेत असर पर्नजाने उनले बताए । देशको अर्थतन्त्रसंग जोडिएको, स्वरोजगारसंग जोडिएको पेशा व्यवसायीका माग सुनुवाइ गर्न सरकारले लापरवाही गरिरहेको भन्दै उनले आफूहरुका माग जायज रहेको र सुनुवाइ नभए कडा आन्दोलन गर्ने बताए ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य गणेश सुनारले बताए । यो आन्दोलन सुनचाँदी व्यवसायीको मात्रै नभएर उपभोक्ता सरोकार मञ्च, उद्योग वाणिज्य संघले समेत यस्मा एक्यवद्धता जनाएको उनको भनाई थियो ।

त्यस्तै अर्का केन्द्रिय सदस्य जगत सुनारले आवश्यक कर तिर्न आफूहरु प्रतिवद्ध रहेको समेत प्रष्ट पारे । सुन नगद भएकोले अनावश्यक कर लगाउन नहुने सुनारले बताए । त्यस्तै सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिम सभापति सन्तोष लामीछानेले जायज कर तिर्न हरेक प्रक्रिया पुरा गर्न सुनचाँदी व्यवसायी तयार रहेको बताए ।

हिन्दु धर्ममा सुनलाई विलासी नभइ अतिआवश्यक वस्तुका रुपमा लिने गरिएको उनले बताए । “मान्छे मर्दा होस् वा कुनै शुभ कार्य गर्दा होस् सुन चाहिन्छ यो विलासी वस्तु होइन्, उनले मान्छे मर्दा घाँटीमा सुन हालिन्छ, विवाह वर्तबन्धमा सुनै चाहिन्छ उनले भने के अब मर्दा पनि कर तिरेर मर्नु?” उनले व्यवसायीलाई स्थापित गर्नुको सट्टा सरकारले धराशायी बनाउन भूमिका खेलिरहेको आरोप लगाए ।

त्यस्तै कैलाली सुनचाँदी आभुषण व्यवसायी संघका अध्यक्ष मनोज खनालले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।

उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौं, उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर, उपभोक्ता अधिकार सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।