
अत्तरिया – बझाङको बित्थडचिर गाउँपालिका–४, डुंग्रीका ५२ वर्षीय हर्क ढाँट आइतबार बिहान घरमै थिए । उनीसँग सानो मोबाइल छ । त्यसमा इन्टरनेट चल्दैन । गाउँकै युवाहरूले उनलाई छोरा रवीन्द्रको भिडिओ देखाए, भारतमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेटको उपाधि जितेको ।
शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई हराउँदै रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेको समाचारले देश–दुनिया तहल्का पिटिरहेको सुन्दा हर्कको खुसीको सीमा रहेन । एमएफएन बान्टमवेट च्याम्पियन बनेर सोमबार स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा स्वागत ग्रहण गर्ने क्रममा रवीन्द्र ढाट । ‘मलाई गेमबारे थाहै थिएन । गाउँकै केटाहरूले अर्को दिन मोबाइलमा देखाए,’ हर्कले भने, ‘छोराको खेल हेर्दा उसले पिटाइ खाँदा मन दुखिरहेको थियो । जितेर देशलाई चिनाउँदा पछि निकै खुसी लाग्यो ।’ रवीन्द्रको कीर्तिमानी जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई बधाई दिएका छन् ।

दुर्गम सुदूर पहाडको बस्तीबाट उठेका फाइटर रवीन्द्रको यात्रा निकै संघर्षपूर्ण छ । रवीन्द्रको परिवारको आर्थिक अवस्था कमजोर छ । घरमा उनका बुवा आमा र भतिजा बस्छन् । रवीन्द्रका दाइ चन्द्रबहादुर परिवारसहित काम गर्न भारतको बेङ्लोरमा छन् । भाइ लक्ष्मण र दुई बहिनी काठमाडौँमा छन् । उनका बुवा ‘ख’ वर्गमा सूचीकृत अपांगता भएका व्यक्ति हुन । रवीन्द्रले ०७१ सालमा देउलेकको स्थानीय देवेश्वरी माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिए । घर खर्च चलाउन मुस्किल पर्न थालेपछि उनी मजदुरी गर्न भारत हानिए ।
उनको गाउँका मानिस मजदुरी गर्न उत्तराखण्ड जाने गर्छन् । उनीहरूसँगै गएका रवीन्द्रले पनि उत्तराखण्डको पिथौरागढमा ३ वर्षसम्म मजदुरी गरे । ‘ढुंगा, सिमेन्ट, भारी बोक्ने काम गथ्र्यो । पिढौरागढ काम गरेर केही हुँदैन । घर खर्च र भाइबहिनीको पढाइ खर्च जोहो गर्नुछ भनेर उसलाई दिल्ली पठाए,’ बुवा हर्क भन्छन्, ‘त्यहीँ खेल पनि सिकेको रहेछ ।’
मिक्स मार्सल आट्र्स (एमएमए) सिकिरहेको परिवारलाई थाहै थिएन । घरमा उनले काम मात्रै गरिरहेको बताइरहेका थिए । ९ महिनापछि मात्रै एमएमए खेलिरहेको थाहा पाएको बुवा हर्क बताउँछन् ।
‘लडाइँ पिटाइवाला खेल खेल्छ भन्ने त कल्पनै गरेका थिएनौँ । सिके पनि क्रिकेट फुटबल सिक्ला सोचेका थियौँ, हामीलाई त्यसले केही हुँदैन । खर्च चल्दैन। केही सिप सिक्नु भनेको थिएँ,’ उनले भने, ‘कामसँगै दिल्लीमा त्यो खेल्ने रहेछ ।’ दिल्लीमा काम सुरु गरेको २÷३ महिनापछि रवीन्द्र जिम जान थाले । कराते सिक्ने भनेर गएका उनी त्यहाँ अभ्यास गर्दा गर्दै एमएमएमा लागिसकेका थिए । एक वर्षपछि उनी फाइट खेल्न थाले र जित्दै पनि गए । दिल्ली कोचले एमएमए भारतको नेसनल खेल खेल्नुपर्छ भनेपछि रवीन्द्र त्यहाँ सामेल भए । त्यो जित्दै उनी वल्र्ड च्याम्पियनसिपका लागि छनोट भए । तर नेपाली कागजपत्र हुनाले उनी भारतबाट सामेल हुन पाएनन् । अर्कोपटक पनि भारतको नेसनल भिडेका उनी गोल्ड जित्दै वल्र्ड च्याम्पियसनसिपका लागि छनोट भए पनि सामेल हुन रोकिए ।
त्यसपछि रवीन्द्र भारतमा प्रोफेसनल खेल्न थाले । तर कोरोना महामारीपछि भएको लकडाउनमा उनी गाउँ फर्किए । गाउँमा पनि रवीन्द्रले सकेजति अभ्यास जारी नै राखे । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनलाई केही गर्नुपर्ने दबाब थियो । विदेश जाने सोचले काठमाडौँ हानिएका उनी कामसँगै एमएमए अभ्यास गर्न सकिने अवस्था खोज्छन् । तर त्यस्तो अवसर पाइँदैन । विदेशको सोच त्यागेर रवीन्द्र त्यसपछि काठमाडौँमा अभ्यास गर्ने ठाउँ खोज्दै जाँदा डिविज लामाको सम्पर्कमा पुगे ।
त्यहाँ अभ्यास गर्दागर्दै उनलाई भारतमा फाइट खेल्ने अवसर आइरहेको थियो ।
काठमाडौँ–भारत आउजाउ चलिरहेको थियो । नेपालमा पहिलोपटक आयोजित प्रोफेसनल एमएमएमा उनी सामेल भए । रवीन्द्रका लागि विदेशी प्रतियोगितामा बाटो खुल्दै गए । थाइल्यान्ड हानिएका रवीन्द्रले त्यहाँ वान च्यापियनसिपमा फाइट जित्ने पहिलो नेपाली फाइटरका रूपमा नाम दर्ज गरे । ‘ऊ हेर्दाखेरि फाइटर होलाजस्तो लाग्दैन । काममा निकै लगनशील छ । कम बोल्छ काममा लागिरहन्छ,’ रवीन्द्रका काका मानबहादुरले भने, ‘परिवारको अवस्थामा कमजोर हो। खेतीकिसानी गरेर घरखर्च चल्छ ।’ रवीन्द्र गाउँ डुंग्रीमा जमिन थोरै छ । वर्षभरि खानलाई पनि पुग्दैन । पैसा नकमाए पनि छोराले नाम कमाएको छ । देशलाई चिनाएको छ,’ बुवा हर्क भन्छन्, ‘सबैको साथ सहयोगले यहाँसम्म पुग्दा निकै खुसी लागेको छ ।’
















