
बैतडी – बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ जाँदैगरेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ ४ः४० बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए ।

तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका उनले बताए।
मृतकको शव अस्पतालमै राखिएको छ । भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।















