बैतडीका विधालयमा कक्षाकोठामै हिटर जडान

Image
maya metro

बैतडी – मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ। जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन्।बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ। बालबालिकालाई चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।

‘शिशु कक्षादेखि १० सम्मको प्रत्येक कोठामा दुई÷दुईवटा हिटर जडान गरिएको छ,” उनले भने, “कतिपय अभिभावकहरुको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो लुगा लगाउन नपाएकाले आफूहरुले कक्षा कोठा न्यानो गरी पठनपाठन गराउन हिटर जडान गरेका हौँ।” प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको हो। यस कार्यका लागि रु ८३ हजार खर्च भएको अध्यक्ष भाटले जानकारी दिए।

nisarga

जडान गरिएका हिटरबाट हिउँदेयामको चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा सहज भएको छ। हिटर जडान गर्दा निकै खुसी लागेको कक्षा ८ की छात्रा वर्षा भाटले बताए। उनले भने, “हिटर नहुँदासम्म कक्षाकोठामा जाडो हुन्थ्यो अहिले न्यानो हुँदा खुसी छौँ।” जाडो भएर कक्षाकोठामा बसेर पढ्न सहज हुन्थेन तर अहिले न्यानो भएकाले पढ्न निकै सजिलो भएको कक्षा १० का छात्र कृष्ण आलेले बताए। उक्त विद्यालयमा हाल २८५ विद्यार्थी अध्यनरत छन्।

रासस