सुदूरपश्चिम प्रदेशका संवेदनशील मतदान केन्द्रमा सुरक्षा बलको थप टोली परिचालन

Image
maya metro

कैलाली – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबार रातिदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ। प्रतिनिधि सभातर्फ कुल १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाखभन्दा बढी मतदाता रहेका छन्।

यो प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले बताएका छन् ।

nisarga

यस्तै, ३०० मतदानस्थल सामान्य र ३९५ संवेदनशील रहेका छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील रहेका छन्।

नेपाल प्रहरीबाट करिब सात हजारभन्दा बढी र करिब १३ हजार ५०० निर्वाचन प्रहरी खटिएका छन्। सशस्त्र प्रहरी र नेपाली सेना गरी ३० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न खटिएको रानाले बताएका छन् ।

हरेक जिल्लामा थप मद्दतसहितका टोली खटाइएको छ। मोबाइल टोली, रिजर्भ टोली तथा मतदानस्थलमा खटिएका सबै टोलीलाई गैरकानुनी गतिविधि रोक्न स्पष्ट निर्देशन दिइएको छ।

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित छन्। खुला सिमानाका कारण भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने आवतजावत हुन्छ। भारतीय नम्बर प्लेटका सवारीसाधन पनि सञ्चालन हुने भएकाले काउन्टरपार्टसँग समन्वय गरी कडाइका साथ जाँच तथा निगरानी भइरहेको छ। केही भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारीसाधन नियन्त्रणमा लिइएको उनको भनाई छ ।

यसैगरी, फरार कैदीबन्दीहरूको विवरण सिमानामा राखिएको छ। घर–घरमा पुगेर खोजी अभियान सञ्चालन गरिएको छ।

विगतका निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गर्दै ४८९ अतिसंवेदनशील, ३९५ संवेदनशील र २९२ कम संवेदनशील गरी कुल १,१७६ मतदानस्थल वर्गीकरण गरिएको छ।

अतिसंवेदनशील मतदान केन्द्रमा पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना खटिएका छन्। यस्ता केन्द्रमा तीन वटै सुरक्षा निकायका थप टोली पनि परिचालित छन्। मोबाइल टोलीले नजिकबाट निगरानी गरिरहेको छ।

निर्वाचनअघि हुने गतिविधिका लागि सुरक्षा योजना कार्यान्वयनमा छ। १७७ भन्दा बढी मोबाइल टोली परिचालन गरिएको छ। नेपाल प्रहरीका मात्रै २० भन्दा बढी रिजर्भ टोली छन्। सशस्त्र प्रहरी र नेपाली सेनाका टोली पनि तयारी अवस्थामा छन्। एसएसपी तहसम्मका अधिकृतहरू फिल्डमा खटिएका छन्। २४सै घण्टा निगरानी बढाइएको रानाले बताएका छन् ।