
काठमाडौं – बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा अभूतपूर्व जनलहर देखिएको छ भने कांग्रेस,एमाले र नेकपा रक्षात्मक अवस्थामा पुगेका छन् ।
यसअघि कांग्रेस र एमालेका गढ मानिने निर्वाचन क्षेत्रहरूमा रास्वपाले सहज जित निकालेको छ । काठमाडौं उपत्यकाका सबैजसो क्षेत्रमा रास्वपा अग्रस्थानमा छ । काठमाडौं १, ३, ४, ५, ६, ७ र १० मा विजय हासिल गरिसकेको छ । बाँकी क्षेत्रमा अग्रस्थानमा छ । कास्कीका दुई क्षेत्रमा रास्वपाले जित निकालिसकेको छ । अहिलेको निर्वाचनमा रास्वपाको एक्लौटी बहुमत आउने निश्चित भइसकेको छ ।

रास्वपाको लहरले प्रायः हेभीवेट मानिएकाहरु लगातार रुपमा पराजित हुन थालेका छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति गगन थापा समेत रेडजोनमा पुगेको अवस्था छ ।
अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका दुई बहालवाला महामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग भारी मतान्तरले पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ र मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाले सानदार जित दर्ता गराएसँगै स्थापित दलका ‘हेभीवेट’ नेताहरूको राजनीतिक साख धर्मराएको छ ।
देशमै हट सिट मानिएको काठमाडौं-५ र बलिया प्रतिस्पर्धीहरू रहेको मोरङ-४ को नतिजाले मतदातामा पुराना दलप्रतिको वितृष्णा र वैकल्पिक शक्तिप्रति विश्वास देखाएको छ ।
काठमाडौं-५ मा तीन ‘हेभीवेट’लाई हराउँदै सस्मितको उदय
यसपटकको चुनावमा सबैभन्दा बढी चासोको केन्द्र बनेको काठमाडौं–५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन् । पोखरेलले ३० हजार ७३७ मत ल्याएर सानदार जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ९ हजार १५९ मतमा चित्त बुझाउनुपर्यो ।
त्यसैगरी, नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल ४ हजार ७०१ मतमै खुम्चिए । राप्रपाका कमल थापा लगायतका शीर्ष नेताहरूसमेत चुनावी मैदानमा रहेको यस क्षेत्रमा पोखरेलले सबै हेभीवेटलाई निकै फराकिलो अन्तरले पछाडि छाडे ।
कांग्रेसका महामन्त्री पौडेलले २०७९ को निर्वाचनमा १५ हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले नेता ईश्वर पोखरेलले १० हजार १९० मत पाएका थिए । रास्वपाका उम्मेदवार डा. प्रणयशमशेर राणा पाँच हजार ४७७ मतसहित तेस्रो भएका थिए ।
यसरी पुराना राजनीतिक दलको वर्चस्व पोखरेलले तोडेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चुनावी अभियानको अग्रपंक्तिमा खटिएका पोखरेलले तीन हेभीवेटलाई हराउँदै संसदीय यात्रामा प्रवेश गरेका छन् ।
मोरङ-४ मा सन्तोषको एकतर्फी जित
मोरङ क्षेत्र नम्बर ४ को नतिजा पनि पुराना दलहरूका लागि उत्तिकै अनपेक्षित रह्यो । यो क्षेत्रमा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन् । राजवंशीलाई कांग्रेस, नेकपा र एमालेका उम्मेदवारले प्रतिस्पर्धी समेत मानेका थिएनन् । सामान्य परिवारका राजवंशीले अनपेक्षित रुपमा कांग्रेसका महामन्त्री र निरन्तर जित निकाल्दै आएका नेकपाका केन्द्रीय सदस्यलाई हराए ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गरे । घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरे । चुनावअघि यस क्षेत्रमा कांग्रेसका घिमिरे, माओवादी केन्द्रका अमनलाल मोदी र एमालेका जीवन घिमिरेबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।
तर परिणाम रास्वपाको पक्षमा एकतर्फी देखियो । माओवादीका मोदीले १० हजार ७६२ र एमालेका घिमिरेले ६ हजार ९३३ मत मात्र प्राप्त गरे । राजवंशीसँग कुनै पनि स्थापित नेताहरू राजवंशीको छेउछाउ समेत पुग्न सकेनन् ।
यो निर्वाचन परिणामले नेपाली राजनीतिमा एउटा गम्भीर र स्पष्ट सन्देश प्रवाह गरेको छ । नेपाली कांग्रेसजस्तो पुरानो र विशाल पार्टीका दुई–दुई जना महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे रास्वपाका नवप्रवेशी तथा युवासँग यति फराकिलो मतान्तरले पराजित भए । यसको अर्थ मतदाताले पार्टीको ऐतिहासिक विरासत, चुनाव चिह्न वा नेताको हेभीवेट छविलाई मात्र हेरेर मतदान गर्न छाडेको देखिन्छ ।
काठमाडौंको सचेत सहरी वर्गदेखि मोरङको मिश्रित समाजसम्म देखिएको रास्वपाको यो लहरले डेलिभरी र वैकल्पिक राजनीति शक्तिप्रति मतदाताले विश्वास गरेको देखिन्छ ।















