
मौसम विभागले तीन दिन ६ वटा जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले हिजो तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन-३ जारी गरेर कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर चल्ने जनाएको हो।
विभागले बैतडी, डडेलधुरा,अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा अद्यावधिक रहने जनाएको छ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन विभागले अनुरोध गरेको छ।
तातो हावा तथा तातो लहरबाट हुने थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ। तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन आवश्यक रहेको विभागले जनाएको छ।














