
धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका छन । आगामी माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय धनगढीमा मंगलबार नेकपा एमालेबाट ३ जना र बाम लोकतान्त्रिक गठबन्धनबाट ३ गरी ६ जनाले मनोनय दर्ता गरेका हुन ।
सहायक निर्वाचन अधिकृत प्रेम भट्टले नेकपा एमालेले खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट, महिला तर्फ सन्तोष कुमारी थापा शर्मा र दलिततर्फ बैतडीका नरेश बिक मनोनय दर्ता गरेको बताए ।

त्यस्तै गठबन्धनका तर्फबाट खुलामा नेपाली कांग्रेसका नारायण दत्त मिश्र, महिला कोटामा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम ईन्चार्ज गरिमा शाह र दलित कोटामा माओवादी केन्द्रका डडेल्धुराका जगत पार्की मनोनय दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाका २० सासंद चार वर्षे कार्यकाल पूरा गरेर अगामी फागुन २० गते बिदाई हुँदै छन् । १ जना राष्ट्रपतिले मनोनयन गर्ने छन् भने १९ पदका लागि माघ १२ गते ७ वटै प्रदेशमा निर्वाचन तोकिएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने छन् । सुदूरपश्चिममा स्थानीय तहका १ सय ७५ र प्रदेशसभा सदस्य ५२ गरेर २ सय २७ मतदाता रहेका छन् । मतभार स्थानीय तहका १८ र प्रदेश सभा सदस्यको ४८ रहेको छ ।















