
काठमाडौं – नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा फेरि सारिएको हो । काँग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हने उल्लेख गरेका छन् । कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ। क्रियाशील सदस्यता विवादले १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन।















