
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छिन् ।
ओमानमा भइरहेको टी–२० विश्व कप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज बेलुकी ट्वीट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी हुन् । हो । उनले लेखेकी छिन् , ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना !’

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडालाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।













