
नेपालगञ्ज – बलात्कार आरोपमा नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।उनलाई सोमबार बाँकेबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ।

बानियाँले बलात्कार गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि बानियाँ फरार भएका प्रहरीले जनाएको थियो। पूर्वमन्त्रीसमेत रहेका बानियाँले जुम्ला घर भएकी शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा बोलाएर बलात्कार गरेको आरोप थियो।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।






























