कञ्चनपुरमा भाले चितुवा मृत फेला

Image
फाईल फोटो
maya metro

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ। सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए। सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए।

“मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भई सङ्क्रमण हुँदा कीरा परेको अवस्थामा भेटाएका छौँ”, उनले भने, “घाउ भएको ठाउँमा कीरा परेको र धेरै दिनदेखि खान नपाई भोकका कारण मरेको अनुमान गरेका छौँ।”

nisarga

पशु चिकित्सकले पेटभित्र हेर्दा सङ्क्रमण भएर पित्तथैली लगायत सुन्निभएको छ भनेर जानकारी दिएको उनले बताए। “घाउ के भएर बनेको रहेछ, त्यसबारे पत्ता लाग्न सकेको छैन” उनले भने, “घाउ भएकै कारण पेटभित्र सङ्क्रमण भई चितुवा मरेको पशु चिकित्सकको भनाइ छ।”

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र महेन्द्रनगरका चिकित्सकले मृत चितुवाको ‘पोष्टमार्टम’ गरेकाले विस्तृत रिर्पोट आएपछि मृत्युको कारण यकिनका साथ भन्न सकिने उनले बताए। गत वर्षसमेत सोही वन क्षेत्रका वयस्क चितुवा मृत अवस्थामा फेला परेको थियो।

रासस