
अत्तरिया – कैलालीको गोदावरी ५ मा निर्माणाधिन गेटा मेडिकल कलेज संचालनमा सरकारको वेवास्ताप्रति गोदावरीका नगरप्रमुख विरेन्द्र भट्टले चासो देखाएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख भट्टले मेडिकल कलेज संचालनका लागि बजेट विनियोजनकालागि माग गर्न र मेडिकल कलेज संचालनका लागि आवश्यक ऐन बनाउनका लागि प्रस्ताव राख्न काठमाण्डौं जान लागेको बताएका हुन् ।
उनले डडेल्धुरामा मेडिकल कलेज बन्नु सुदूरपश्चिमका लागि राम्रो भएपनि त्यसका कारण गेटा मेडिकल कलेज ओझलमा नपरोस भन्ने आफ्नो चाहना रहेको बताए । मेडिकल संचालनकालागी संरचना निर्माण भईसकेको अवस्थामा सरकारको निती तथा कार्यक्रममा नसमेटीएका कारण बजेट पनी नहाल्ने काम नहोस भन्ने उदेश्यकासाथ आफु आजै काठमाडौं जान लागेको उनले बताएका छन् ।

गेटा मेडिकल कलेजका लागि आगामी आर्थीक बर्षमा कुनै पनि हालतमा बजेट बिनियोजन हुनुपर्ने उनको भनाई छ । भोलीका दिनमा बजेट परे पछि पनि यसको ऐन पास हुन पनि जरुरी छ’ उनले भने ‘सुदूरपश्चिममा यती ठूलो मेडिकल कलेज बनिसक्दा पनि यो संचालन नआउँदै प्रदेशकै अन्य ठाउँमा पनि मेडिकल कलेज परेको देखिन्छ । जसका कारण गेटा मेडिकल कलेज ओझेलमा नपरोस भन्ने चिन्ताको बिषय बनेको छ । यसैका लागि म आज नै काठमाण्डौं गएर यसको लागि पहल गर्नेछु ।’
उनले काठमाण्डौं गएर प्रधानमन्त्री, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा यसको बारेमा कुरा राख्ने बताएका छन । उनले मेडिकल कलेज संचालनका लागि तत्काल ४ अर्व बजेट आवश्यक पर्ने जानकारी आफूले पाएको बताए । गेटा मेडिकल कलेज गोदावरी नगरपालीकामै पर्ने भएकोले पनी संचालनकालागी जनभावना अनुसार दवाव दिनु आफ्नो कर्तव्य भएको उनले बताएका छन् ।
नेपाल सरकारले जेठ १० गते पेश गरेको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएपछी आज मात्रै अत्तरियामा संर्घष समिति गठन गर्दै युवाहरुले चक्काजाम गरि विरोध जनाएका छन् । उनीहरुले चरणवद्धरुपमा विरोधका कार्यक्रम गर्ने बताईसकेका छन् । सरकारको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएपछी सबैतिर विरोध भईरहेको छ ।















