
बाजुरा – बाजुराका विभिन्न गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा मौसम परिवर्तनसँग बाजुराका विभिन्न ठाउँमा भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या बढ्दै गएको हो ।
जल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिका–२ का वडा अध्यक्ष धनवीर सार्कीले गाउँमा २० परिवारका करिब १५० जनामा भाइरल ज्वरो देखिएका बताएका छन् ।

अध्यक्ष सार्कीका अनुसार बिरामीहरूमा हात खुट्टा दुख्ने, ज्वरो आउने खानमन नलाग्ने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ । त्यस्तै, आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी राजेश सार्कीले काँडाकोटका २० घरपरिवारका स्थानीय काँडा कोटमा भैँसी गोठमा बस्दै गएका थिए । उक्त गोठमा बसेर बिरामी भएका उनीहरूको प्राथमिक उपचार भइरहेको सार्कीले बताएका छन् ।
यसैगरी, सोही गाउँपालिका कोटकी बुँङ्गची विकले भदौ १ गतेदेखि आफूलाई ज्वरो आएको र हालसम्म निको नभएको उनले बताएका छन् । जिल्लाका बूढीगङ्गा, त्रिवेणी, गौमुल, खप्तड छेडदहलगायतका स्थानमा भाइरल ज्वरोका बिरामीहरू भेटिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार गत वर्ष पनि बाजुरामा झण्डै पाँच सयभन्दा बढी भाइरल ज्वरोबाट प्रभावित भएका थिए ।
यस वर्ष पनि मौसम परिवर्तनसँगै फेरि जिल्लाका अधिकांश ठाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएको गिरीले बताएका छन् । बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार भइरहेको सूचना अधिकारी गिरीले जानकारी दिएका छन् ।













