
बाजुरा – जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौँ दलित बस्तीमा बर्खामै खानेपानीको अभाव देखिएको छ ।
सो दलित बस्तीमा पुस्तौँदेखि अहिलेसम्म गाउँमा खानेपानी नहुँदा यहाँका दलित परिवारका स्थानीय घण्टौँ बाटो हिँडेर खोलाको पानी खान बाध्य हुँदैआएका छन् ।

जगनाथ गाउँपालिका –६ ओबाबका स्थानीय काँशीचन्द्र सार्कीले गाउँमा खानेपानी नहुँदा यहाँका दर्जनौँ दलित परिवार अहिले खोलाको पानी खान बाध्य भएको बताए ।
गत बर्खाको बाढी पहिरोका कारण गाउँमा खानेपानीको मुहान सुक्दै गएपछि बाजुराका अधिकांश स्थानीय अहिले खोलाको पानी खान बाध्य भएका हुन् । खोलाको पानी खाँदा स्थानीयलाई झाडापखाला, आँउमासी, रुघाखोकी लगायतका विभिन्न रोग लाग्नेगरेको स्थानीयको भनाइ छ ।
खोलामा राति पानी ल्याउन जाँदा ज्यान जोखिममा पर्ने गरेकाले पानीको उचित व्यवस्था गरिदिन यहाँका महिलाको माग छ ।













