
एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै १३ वर्षपछि आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ ।
बुधबार सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रनको योगफल तयार गरेको थियो । जवाmपी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कप्तान आजम र विकेटकिपर ब्याटर रिजवानले पहिलो विकेटका लागि एक सय पाँच रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए ।
पाकिस्तानका लागि ४२ बलमा सात चौकासहित ५३ रन जोडेर कप्तान आजम पेभेलियन फर्केका थिए । रिजवानले ४२ बलमा पाँच चौकासहित ५७ रनको अर्धशतकीय इनिङ खेले ।
मोहम्मद ह्यारिस २६ बलमा दुई चौका र एक छक्कासहित ३० रन बनाएर पेभेलियन फर्किँदा शान मसुद दुई रन र इफ्तिखार अहमद शून्यमा अविजित रहे ।
बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिए। अन्य बलर विकेटविहीन रहँदा न्युजिल्यान्डले एक सय ५२ रनको योगफल जोगाउन सकेन ।
पाकिस्तानले भोलि (बिहीबार) हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि खेल्ने छ ।































