
विश्वकप फुटबलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगितामा क्रोएसिया र मोरक्कोले नकआउटमा स्थान बनाएका छन्।
नेपाली समयअनुसार बिहीबार राति भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा बेल्जियमलाई अघिल्लो चरण प्रवेशका लागि जित आवश्यक थियो। तर क्रोएसियासँग बराबरीमा रोकिएसँगै बेल्जियमको यात्रा समाप्त भएको छ।

दुवै टिमले गोलका केही राम्रा मौका चुकाएका थिए। बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकुले गरेका उत्कृष्ट प्रयास विफल हुँदा बेल्जियमले नकआउटको अवसर गुमायो।
त्यस्तै जापानले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।
कतारको खालिफा स्टेडियममा गएराति स्पेनलाई २–१ ले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ।
खेलको ११ औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।
५१ औँ मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ।
जापानले ३ खेलमा ६ अंक जोडेको छ। पराजित भए पनि स्पेन तीन खेलमा ४ अंक जोड्दै राउण्ड अफ १६मा पुगेको छ।






























