कञ्चनपुरका घरबासमा विदेशी पर्यटक

Image
maya metro

कञ्चनपुर – पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ। कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन्। यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए।

“कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम बुकिङ हुने गरेका छन्”, उनले भने। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशीको रोजाइ घरबास हुने गरेको छ। “होटेलमा महँगो र हो–हल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्ने गरेका छन्”, रानाले भने, “विदेशीलाई स्थानीय खानाका परिकार र राना समुदायको नृत्यले स्वागत गर्ने गरेका छौँ।”

nisarga

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए। उनले अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने समय भएकाले पनि पाहुना बढी आउने गरेको बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आयस्तरमा समेत वृद्धि हुन थालेको चेतरा राना बताउँछन्। “राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, रानाले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्।”

घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचार भएको उहाँको भनाइ छ। “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरुले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उनले भने, “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा बढेको छ।” अचेल शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन्। माघमा तीन सय र पुसमा ५ सय बढीले निकुञ्ज भ्रमण गरेका छन्।

रासस