शुक्लाफाँटामा खरमजुरको गणना सकियो

Image
maya metro

दोधारा चाँदनी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ। राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो।

नेपाल पन्छी संरक्षण संघका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए। ‘यो विश्वकै अति संकटापन्न पन्छी हो,’ डगौराले भने, ‘खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ‚’ उनले भने।

nisarga

उनले राष्ट्रिय रुपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्यांक सार्वजनिक गरिने बताए। खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमजुर पाइने स्थानमा अध्ययन गरिएको बताए।

उनले भने, ‘संघले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिन्छ।’ ग्रीष्मयामको सुरुआतदेखि बर्खायाम नलागुन्जेल यसको प्रजनन समय भएकाले यो समयमा खरमजुर निकुञ्जको घाँसेमैदानमा देख्न पाइन्छ।

निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो। सन् २०२१ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा ८ वटा खरमजुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए।

शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ ४ सय ५४ प्रजातिका चरा रहेका छन्।

रासस