भर्नाकै दिन किताब पाएपछि विद्यार्थी हर्षित

Image
maya metro

बाजुरा – गत वर्ष किताब नपाए पनि परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीले यो वर्ष भने भर्नाकै दिन किताब पाएपछि हर्षित देखिएका छन्। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले बाजुराका पुस्तक बिक्रेतालाई समयमै किताब उपलब्ध गरेसँगै विद्यार्थीले भर्नाकै दिन पुस्तक पाएका हुन्।

बाजुराको बूढीगङ्गा नगरपालिका–१ स्थित धुरालसैन माविका कक्षा ९ मा अध्ययनरत छात्र जीवन शाहीले गत वर्ष किताब नपाए पनि कक्षा ८ को परीक्षा दिएको बताए। यो वर्ष भने विद्यालय भर्ना हुन आएकै दिन हातमा किताब थमाइदिएपछि खुसी लागेको बताए। गत वर्ष किताब कहिले आउला भन्दै विद्यार्थीले बाटो कुर्दै बस्नु परेको थियो। यो वर्ष भने समयमै हातमा किताब थमाइदिएपछि अब भने किताबका लागि बाटो कुर्न नपर्ने भएको हो।

nisarga

पुस्तक बिक्रेताले समयमै विद्यालयलाई किताब पुगेको खबर गर्ने बित्तिकै विद्यार्थीको हातमा किताब थमाउन सकेको धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले बताए। प्रवीण एन्ड ललित, करुणा, रारा, रुबियालगायतका स्टेसनरीबाट बाजुराका विद्यालयले किताब लिने गरेका छन्। यी पुस्तक बिक्रेताले यती बेला समयमै बाजुरामा किताब पुगाइदिएपछि विद्यालयले पनि सोहीअनुसार विद्यार्थीको हातमा किताब थमाउन सफल भएका हुन्।

प्रवीण एन्ड ललित स्टेसनरी बाम्काका पुस्तक वितरक टेकबहादुर थापाले यो वर्ष जनक शिक्षा सामग्रीले समयमै किताब उपलब्ध गराइदिएको बताए। जसका कारण विद्यालयलाई किताब वितरण गर्न सजिलो भएको हो। उहाँका अनुसार, गत वर्ष धेरै पटक किताबका लागि जनक शिक्षा सामग्री प्रादेशिक कार्यालय धनगढीमा धाउँदा पनि कक्षा ८ को किताब नै मिलेन। यो वर्षमा भने कक्षा एकदेखि १० कक्षाको सबै किताब समयमै उपलब्ध भएको हो।