शुक्लाफाँटाका कृष्णसार चितवन ल्याउन फेरि अध्ययन गरिँदै

Image
maya metro

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कृष्णसार चितवन स्थानान्तरण गर्न फेरि अध्ययन गरिने भएको छ । यसअघि ०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट ल्याइएका १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा छाडिए पनि सबै मरेकाले कृष्णसारका लागि पुनः अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक टोलीले ०७७ मा चितवनको रत्ननगर नगरपालिका– १० टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनमा कृष्णसार स्थानान्तरण गर्न सकिने रिपोर्ट दिएको थियो । नगरपालिकाले खुला निकुञ्ज मोडलमा पर्या–पर्यटन विकासका लागि १८ कृष्णसार ल्याउन ०७८ देखि नै १७ हेक्टरमा पूर्वाधार (तारजालीले घेर्न) निर्माण सुरु पनि गरेको थियो । तर, यसरी नै स्थानान्तरण गरेर ल्याइएका सबै अर्ना मरेकाले कृष्णसारका लागि फेरि अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।

nisarga

‘चितवनमा कृष्णसारका लागि वासस्थान उपयुक्त छ वा छैन । शुक्लाफाँटाको हावापानीमा हुर्किएका कृष्णसार चितवनको हावापानीमा बस्न सक्छन् कि सक्दैनन् भनेर हेरिनेछ,’ निकुञ्ज विभागका प्रवक्ता अजय कार्कीले भने, ‘त्यसबाहेक हाम्रो (निकुञ्जको) जनशक्तिले कृष्णसारको संरक्षण गर्न सक्छ कि सक्दैन भनेर पनि अध्ययन गरिनेछ । त्यसपछि मात्र निर्णय हुन्छ ।’

कृष्णसारको वंश विस्तार र दीर्घकालीन संरक्षणका लागि चितवन स्थानान्तरणको तयारी भइरहेको हो । टिकौलीमा कृष्णसार राख्नका लागि १७ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए । उनका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ ।

कृष्णसारलाई चितवनमा ल्याउन रत्ननगर नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वनले व्यवस्थापनको काम गरिरहेको छ । कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले ०७८/०७९ मा २२ लाख र ०७९/८० मा ५० लाख खर्च गरिसकेको छ । डिभिजन वनले पनि आपूर्ति समितिबाट १४ लाख खर्च गरिसकेको छ ।

कृष्णसारको संरक्षण र पर्या–पर्यटनको विकासका लागि कृष्णसार ल्याउन लागिएको मेयर प्रह्लाद सापकोटाले बताए । ‘यो भेगमा नभएको र नेपालमै दुर्लभ मानिएको कृष्णसार ल्याउँदा आकर्षण बढ्छ नै । सौराहा आउनेलाई हात्ती, बाघ र गैँडासँग कृष्णसार पनि हेर्न अवसर हुन्छ,’ उनले भने । नगरपालिकाले पञ्चकन्या वनमा हरियाली पार्कसमेत निर्माणको तयारी गरेको छ ।

नयाँपत्रिकाबाट