प्लास्टिकले भरिन थाल्यो धनगढीको जाखोर ताल

Image
maya metro

धनगढी – प्लास्टिकमुक्त धनगढी उपमहानगरपालिकाकै जाखोर ताल प्लास्टिकले भरिन थालेको छ । प्लास्टिक निषेधित क्षेत्र भनिए पनि तालको यत्रतत्र जथाभावी प्लास्टिकको प्रयोग र उत्सर्जन गरेको देख्न सकिन्छ । यो उपमहानगरपालिकाभित्र प्लास्टिक प्रयोगमा रोक लगाएको दुई वर्ष भइसकेको छ ।

प्लास्टिकजन्य वस्तुबाट हुने फोहोर र वातावरणीय प्रदूषण रोक्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालयले २०७९ साल असोज १ गतेबाट नगर क्षेत्रमा प्लास्टिक प्रयोगमा रोक लगाएको थियो तर प्लास्टिक निषेधित यो पालिकाको वडा नम्बर ७ मा रहेको जाखोर ताल प्लास्टिकले कुरूप मात्रै नभई प्रदूषित पनि भइरहेको छ ।

nisarga

आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य जाखोर तालमा रमाउन आउने पर्यटकले नै ताल क्षेत्रलाई प्रदूषित बनाइरहेका छन् । उनीहरूले आफूसँगै ल्याएको प्लास्टिक, पानीको बोतल, जुसका डिब्बा तालमा फाल्ने गरेका छन् । जैविक विविधताले महत्वपूर्ण सिमसार जाखोर तालमा यसरी प्लास्टिकजन्य वस्तु फाल्नु अत्यन्त गलत कार्य रहेको स्थानीयको भनाई छ । ताल क्षेत्रको व्यवस्थापन गर्ने निकायले प्लास्टिक फोहोर फाल्ने कार्य रोक्नेदेखि लिएर सरसफाइमा ध्यान दिनुपर्ने उनीहरु बताँउछन्

वनस्पति अनुसन्धान केन्द्र धनगढीले ताल क्षेत्रमा प्लास्टिक प्रयोगमा बन्देज गरेको छ । त्यस्तै दुई वर्षदेखि प्लास्टिक प्रयोगमा रोक लगाएको धनगढी उपमहानगरपालिकाले ताल क्षेत्रमा प्लास्टिकजन्य फोहोर फालेको पाएमा पाँच हजारदेखि १५ हजार रुपियाँसम्म जरिबाना तोकेको छ तर नियमन हुन नसक्दा फोहोर गर्ने क्रम रोकिएको छैन ।

ताल क्षेत्रमा सरसफाइ गर्ने महिला समूहकी कमली चौधरीका अनुसार ताल घुम्न, पिकनिक खान र जन्मदिनको पार्टी मनाउन आउनेले जथाभाबी फोहोर गर्ने गरेका छन् । घुम्न आउने आगन्तुकलाई प्लास्टिक प्रयोग नगर्न आग्रह गर्दा पनि अटेरी गर्ने गरेका छन् । जन्मदिनको पार्टी मनाउनेले झन् फोहोर गरेर जाने गरेका छन् ।

उनले पिकनिक खाने र घुम्न आउने व्यक्तिले गरेको फोहोर आफूहरूको महिला समूहले सरसफाइ गरेर व्यवस्थापन गर्ने गरेको बताईन्। प्लास्टिक प्रयोग रोक्नका लागि महिला समूहले पातको दुना, टपरी बनाएर बिक्री गर्ने गरेको छ । १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा वर्षा र जाडोयाममा विभिन्न प्रजातिका चराचुरुङ्गी बस्ने गरेका छन् । यो ताल देवहरिया वनस्पति उद्यान परिसरमा महìवपूर्ण सिमसारका रूपमा रहेको छ । प्लास्टिकजन्य फोहोरले ताल प्रदूषित बन्दै गएकोप्रति केन्द्रले पनि चिन्ता व्यक्त गरेको छ ।