
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा पर्ने धार्मीक तथा पर्यटकीय क्षेत्र नायल ताल पूर्वाधार अभावका कारण ओझेलमा परेको छ । अत्तरिया बजारबाट झण्डै २८ किलोमिटरको दुरीमा रहेको नायल ताल सडक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको हो ।
पर्यटनको प्रशस्त सम्भावना बोकेको नायल तालसम्म पुग्न कैलालीको मालाखेती तथा कञ्चनपुरको वाणीबाट सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन सकेको छैन । विकासको मेरुदण्ड नै सडक भएकाले नायलसम्म सडक पूर्वाधार विकास गर्नुपर्ने स्थानीयको माग छ ।

स्थानीयका अनुसार ताल वरीपरी नालाको व्यवस्था नहुँदा डाँडाबाट आउने पानीले ताल पुरिने जोखिम उत्तिकै रहेको छ । नायलका स्थानीय थान बहादुर खत्रीले वर्षाको समयमा चारैतिरबाट आउने पानीले तालको अस्तित्व संकटमा रहेको बताए । “ चारैतिर डाँडा छ,बिचमा ताल छ,उनले भने, वर्षायाममा डाँडाबाट आउने पानीले ताल पुरिने हो की भन्ने डर छ ।”
उत्त समस्या समाधानका लागि ताल वरिपरि नाला तथा आरसिसी सहितको बाध बनाउनु पर्ने उनको भनाई छ। तालको अस्तित्व जोगाउन तीनै तहका सरकारको चासो हुन आवश्यक रहेको भन्दै उनले उत्त कार्यमा तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै स्थानीय पदम बहादुर खत्रीले सानो सानो बजेट पटक पटक हाल्नुभन्दा पनि एकै पटक पुर्ण काम हुनेगरी बजेटको व्यवस्था गर्नुपर्ने बताए । दुईतीन चोटी सानो सानो बजेट आएको तर उत्त बजेटले पुर्ण काम हुन नसक्दा बालुवामा पानी सरह भएको उनले बताए ।
नायलसम्म पुग्न बाटोको मुख्य समस्या रहेको भन्दै उनले भने, “तालको कुरा त परै छ,वर्षा लागेपछी हामी नायल बासीलाई कालो दिन सुरु हुन्छ,बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्याउनु पर्छ,त्यसैले सबैभन्दा पहिले नायलसम्म पुग्ने बाटो मर्मत गर्नुपर्यो ।”
स्थानीय हरिदत्त जोशीले नायल ताललाई राज्यले नै विकट बनाई दिएको गुनासो गरे । नायल तालमा पर्यटनको अथाह सम्भावना भएर पनि ओझेलमा परेको उनले दुखेसो गरे । “बसोबासका लागि होस् वा पर्यटन प्रर्वद्धनका लागि होस् नायल सबैकुराका लागि उपयुत्त छ, उनले भने, हिमाल,तराई र पहाड तीनै ठाउँमा पाईने वनस्पतिहरु यहाँ पाईन्छन् ।”
नायल ताल लाई संरक्षण गरी,प्रचार प्रसार गर्न सकेमा देशकै नमुना पर्यटन क्षेत्र बन्ने विश्वास व्यत्त गर्दै उनले भने, “पूर्व देखि पश्चिम सम्म हेर्नुस्, चुरे पहाडको टाकुरामा रहेको एक मात्र ताल यही हो ।” नायल तालको धार्मीक महिमा पनि उत्तिकै रहेको स्थानीयहरु बताउँछन् ।
यस ताल क्षेत्रमा घण्टेश्वर, सिद्ध, भगवती, नवदुर्गा,नन्नरी,दोगटी लगायतका देवी देवताको बास भएकाले यसलाई धार्मिक पर्यटन सँग जोडेर विकास गर्नुपर्ने उनीहरुको माग छ । “यहाँ देवी देवताको ठुलो शक्ति र महिमाको ठुलो ईतिहास छ ।
स्थानीय चन्द्र बहादुर थापाले भने,‘स्वच्छ मनले यो ठाउँमा भएका देवी देवताको भाकल गरे मनोकाङ्क्क्षा पूरा हुन्छ ।”अहिले पनि कैलाली,कञ्चनपुर,डडेल्धुरा,डोटी लगायतका जिल्लाबाट श्रद्धालु भत्तजनहरु विभिन्न चाडपर्वहरुमा आएर दर्शन गर्ने गरेको उनले बताए । त्यस्तै वडा नम्बर–१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले वडाको बजेटले मात्रै नायलसम्म पुग्ने बाटो तथा तालको संरक्षण सम्भव नरहेको बताए ।
डाँडाबाट आएको पानीले पुरीएर तालको अस्तित्व नै मेटिने खतरा रहेको उनले बताए । “तालको संरक्षणका लागि २०७६ सालमै डिपीआर समेत तयार गरेका छौँ,तर डिपीआर बमोजिम काम गर्न सकेका छैनौँ,उनले भने ।” कच्ची सडक सफा गर्नका लागि मात्रै हरेक वर्ष १० लाख बजेट वडाले खर्च गरिरहेको उनले बताए ।
सङ्घीय सरकारबाट तालको बाध निर्माणका लागि सामान्य बजेट आए पनि प्रदेश सरकारको बजेट भने हालसम्म शून्य रहेको उनले बताए । “नायलसम्म पुग्न सडक पूर्वाधारको विकास गरी तालको समेत उचित संरक्षण गर्न सकेमा यो क्षेत्रमा रोजगारी समेत सिर्जना गर्न सकिन्थ्यो” उनले भने ।
हिउँदको समयमा कच्ची सडकमा आवतजावत गर्न मिलेपनि वर्षा सुरु भएपछी नायल बासी सडक सुविधाबाट समेत वञ्चित रहन्छन् । नायलसम्म पुग्न पक्की सडक निर्माण गरी यहाँको विविधताबाट राज्यले फाइदा लिनुपर्ने नायल बासीको भनाई छ ।
नायल तालको पर्यटन प्रर्वद्धनको उदेश्य सहित फोटो पत्रकार महासंघ कैलाली शाखाले गत फाल्गुन २७ गते वडा नम्बर १२ का वडा अध्यक्ष,स्थानीय लगायत सरोकारवालाहरुको उपस्थितिमा ताल क्षेत्रमै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।



















