वसन्त यामको हिमाल आरोहण खुला

Image
maya metro

काठमाडौं – पर्यटन विभागले वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति खुला गरेको छ। आरोहणका लागि उपयुक्त मानिने वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन शुरु गरिएको हो।

मंगलबारसम्म पाँच हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिइसकेको विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले जानकारी दिए। आरोहीले सगरमाथासहित अन्नपूर्ण पहिलो, जुगल,हिमलुङ र अमादब्लम आरोहणको अनुमति लिएका हुन्।

nisarga

सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका लागि आठ, हिमलुङका लागि पाँच र जुगल हिमाल लागि एक आरोहीले अनुमति लिएको गुरुङले जानकारी दिए।

आरोहण अनुमतिबाट एक करोड ८२ लाख ७७ हजार ९८० रुपैयाँ उठेको विभागले जनाएको छ। वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए।

हिमाल आरोहणका लागि अनलाइन बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ।