११ महिनामा डेढ खर्ब बढीको इन्धन आयात

Image
maya metro

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ। बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको हो । गत आवको ११ महिनामा दुुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।

nisarga

विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ। यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपियाँको पेट्रोल आयात भएको छ।

१९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको हवाइ इन्धन आयात भएको विभागको तथ्यांक छ। ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ। ग्यास र डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको नेपाल आयल निगमले जनाएको छ। मुलुकमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत छ।