
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा प्रत्येक वडामा ५ किलोमिटर सडक पानी पिच गर्ने भएको छ । आफैले निर्माण सामग्री खरिद गरेको नगरपालिकाले प्रत्येक वडामा ५ किलोमिटर गरि ९ वटै वडाको ४५ किलोमिटर सडक पानी पिच गर्न लागेको हो । उक्त काम नगरपालिकाले वडा नम्बर ४ को मालुबेलाबाट आजदेखि सुरु गरेको छ ।
नगरपालिकाका ९ वटै वडामा ४५ किलोमिटर सडक पानी पिच गर्नका लागि डेढ करोड बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बाटोहरुमा पानी पिच गर्ने विषय सधैँ पेचिलो बन्ने गरेको बताए । सो समस्यालाई मध्यनजर गरेर नगरपालिकाले आफैले उपकरण खरिद गरेर नगरपालिकाको स्रोत साधनबाट ईन्धन हालेर प्रत्येक वडामा कम्तीमा ५ किलोमिटर पानी पिचको लक्ष्य लिएको बताए ।

ठेक्का या उपभोक्ता समिति मार्फत काम गर्दा बजेटको दुरुपयोग हुन थालेपछि नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानी पिच गर्न थालेको उनले बताए । उनले ठूलो भूगोल भएको कृष्णपुरमा नगरको बजेटले सडक कालोपत्रे मात्रै गर्दा वर्षौ सम्म पनि पिच नहुने देखिएकाले जनतालाई सहजता होस भनेर सबैठाउँमा एकैपटक सडक पानी पिच गर्न लागिएको बताए ।

नगरपालिकाले आफैले सडक पानी पिच गर्दा थोरै बजेटमा पनि धेरै काम भएको उनको भनाइ छ । नगरप्रमुख ओझाले आफ्नो कार्यकालमा सबै वडाका सडक स्तरोन्नती गर्ने उद्देश्यका साथ काम अगाडि बढाईरहेको बताए । सो लक्ष्य हाँसिल गर्न नगरपालिकालाई सहयोग गर्न ओझाले नगरबासीलाई अनुरोध गरे । कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धर्म बहादुर सिंहले वडामा पछिल्लो समय धेरै ठाँउमा बाटोहरु खुलेकोले सबै ठाँउमा स्तरोन्नती गर्न नसकिएको बताए ।
वडामा भौगोलिक विकटता भएकोले पानी पिच मात्रै भए पनि गरेर जनतालाई सेवा प्रदान गर्ने उदेश्य रहेको उनले बताए । आफ्नो वडामा कम्तीमा १० किलोमिटर पानी पिच गरिदिन नगर प्रमुखसंग माग राखेको उनले बताए । कृष्णपुर नगरपालिका वडा नम्बर ४ का स्थानीय विशेश्वर प्रसाद भट्टले स्थानीय सरकार आएपछि गाँउघरका बाटाघाटा पनि स्तरोन्नती भईरहेको बताए ।
उनले गाँउका जनताले विकासको अनुभुती गर्न पाउनु सकरात्मक पक्ष भएको बताए । कृष्णपुर नगरपालिकाले सडक पानी पिच तथा मर्मत गर्नको लागि ग्रेडर, लोडर, २ वटा जेसीवी, २ वटा टिप्पर र २ वटा ट्याक्टर खरिद गरेको थियो ।
















