पुर्चौडी नगरपालिकाका प्राविधिक कर्मचारीमाथि हातपात

Image
maya metro

बैतडी – पुर्चौडी नगरपालिकाका प्राविधिक कर्मचारी केशव बहादुर ऐरमाथि एक उपभोक्ता समितिका अध्यक्षले हातपात गरेका छन्।

नगरपालिकाको १ मा संचालन हुने चिस्यान केन्द्र स्थापना तथा स्थानिय हाट बजार प्रबर्द्धनका लागि पुर्वाधार योजना निर्माण स्थलमा खटिएका बेला प्राविधिक कर्मचारी ऐरमाथि सोही उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले हातपात तथा अन्य कर्मचारी माथि गालीगलौच गरेका हुन्।

nisarga

गडालले ऐरमाथि ज्यान मार्ने उद्देश्यले प्रहार गरेको र प्राविधिक शाखा प्रमुख जगदीश भण्डारी, सव इन्जिनियर चक्रबहादुर गुर्धामी र सव इन्जिनियर राकेश बममाथि अभद्र गालीगलौज गरेको आरोप छ।

प्राविधिक कर्मचारीमाथि हातपात र गालीगलौच गरेको भन्दै नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि नगरपालिकाबाट प्रवाह हुने सेवा ठप्प पारेका छन्।

नगरपालिकाका कर्मचारीहरूले हातपात गर्ने गडाललाई आवश्यक कारवाहीको माग राख्दै सामुहिक रुपमा विज्ञप्ती निकाल्दै सेवा प्रवाह ठप्प पारेका हुन्।
हातपात तथा गालीगलौच गरेका गडाललाई उपभोक्ता समितिबाटै हटाउनु पर्ने र सार्वजनिक रुपमा गल्तीको स्वीकार गर्दै माफी मागे मात्रै नियमित काममा फर्किने कर्मचारीहरूको माग रहेको छ।

फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट हुनु जघन्य अपराध रहेको र यसमा हाम्रो गम्भीर आपत्ती रहेको जनाएको छ। फिल्डमा र खटिएका र राष्ट्रसेवक कर्मचारीमाथि हातपात हुनु अशोभनीय, निन्दनीय र अराजकताको पराकाष्ठा भएको भन्दै विज्ञप्तीमार्फत कारवाहीको माग गरिएको छ।

प्राविधिक कर्मचारी ऐरले आफूमाथि भएको हातपातको विषयमा कानुनी प्रक्रियामा गएका बताए। उनले भने, ‘नगरपालिकाको काममा जाँदा समेत ज्यानको सुरक्षा भएन काम गर्न निकै समस्या भएको छ। कार्यस्थलमा भएको यो घटनाको छानबीन र किनारा नलाग्दासम्म काममा फर्कन सकिदैन।’

यता नगर प्रमुख दिपकबहादुर बमले कर्मचारीहरूको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउँदै छलफल गरेर समस्याको समाधान निकाल्ने बताए।