भारतले पाकिस्तानमाथिको आक्रमणलाई ‘अपरेसन सिन्दूर’ किन भन्यो ?

Image
maya metro

काठमाडौं – भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि हमला सुरु गरेको छ । भारतले यो आक्रमणलाई किन ‘अपरेसन सिन्दूर’ नाम दियो होला ?

शक्ति राष्ट्रहरूले कुनै पनि सैन्य कारबाही गर्नुअघि, अपरेसन कहाँ हुने, कसरी हुने, कसलाई लक्षित गर्ने भनेर रणनीति बनाइन्छ । भारतले पनि यही गरेको हो । यसअनुसार सैन्य कारबाहीको महत्वलाई ख्याल गरेर हमला वा मिसनको नाम राख्छन् । नामकरण पछाडि गोप्यता, प्रेरणा वा मनोवैज्ञानिक मानसिकतासमेत जोडिन्छ ।
सैन्य कारबाहीको मिसनमा कोडमा आधारित नामहरू समेत तय गरिन्छ । प्रतीकात्मक नामकरण गर्ने अभ्यास संसारभरि छ । देशभित्रै आन्तरिक कारबाही चलाउँदा समेत यो अभ्यास हुन्छ ।

nisarga

भारतीय सञ्चारमाध्यमले पहलगाम आक्रमणमा कैयन निर्दोष व्यक्तिहरू मारिएकोसँग यसको सम्बन्ध जोडेका छन् । भारतीय भूमितर्फ पर्ने कश्मिरको पहलगाम २२ अप्रिलको दिन पर्यटकलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

पुरुषहरू मारिँदा तिनका श्रीमतीहरूको सिन्दूर पुछिएकाले उनीहरूको ‘न्याय’ का निम्ति भारतले सैन्य कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राखेको एबीपी न्युजले लेखेको छ ।

नेपाल र भारतीय समाजमा हिन्दु संस्कार अनुसार विवाह गर्दा वरले बधुको सिउँदोमा सिन्दूर लगाइदिने चलन छ । विवाह पश्चात श्रीमानको मृत्यु भएमा श्रीमतीले सिउँदोको सिन्दूर पुछ्ने गर्छन् ।

पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
एबीपी न्युजका अनुसार २२ अप्रिलको दिन पहलगाम आक्रमणमा मारिएका निर्दोष व्यक्तिका श्रीमतीको सिन्दूर पुछिएको भनेर भारतले पाकिस्तानमाथिको सैन्य कारबाहीको नाम नै ‘अपरेसन सिन्दूर’ राखेको हो ।

तर, यही कारण यो नाम राखिएको हो भनेर एबीपी न्युजले कुनै सरकारी अधिकारीमार्फत् पुष्टि गरेको छैन ।

अलजजिराले पनि ‘अपरेसन सिन्दूर’लाई सांस्कृतिक र भावनात्मक सन्दर्भसँग जोडेर व्याख्या गरेको छ ।

सिन्दूर हिन्दू महिलाहरूले श्रीमान जीवित रहेको संकेतस्वरूप निधारमा लगाउने रातो रंगलाई जनाइने उल्लेख गर्दै अलजजिराले श्रीमानको मृत्यु भएपछि सिन्दूर लगाउने प्रथा रोकिने हिन्दुहरूको धार्मिक/सांस्कृतिक परम्पराबारे उल्लेख गरेको छ ।

२२ अप्रिलमा पहलगाम क्षेत्रमा भएको दर्दनाक घटनासँग यो नामलाई जोड्दै उक्त घटनामा खासगरी गैरमुस्लिम पुरुषलाई निशाना बनाएको र ती मारिएका पुरुषहरुको श्रीमती विधवा बनेको भन्दै अप्रेसनको नाममा ‘सिन्दूर’ जोडिएको उल्लेख गरिएको छ ।

यसरी ‘अप्रेसन सिन्दूर’ नाममार्फत भारतले त्यस त्रासदीप्रति भावनात्मक प्रतिक्रिया व्यक्त गरेको अर्थ्याइएको छ ।