
अत्तरिया – अबिरले रङ्गिएको अनुहार, हातमा माला र फूल समाएर पालो कुरेर बसेका विद्यार्थी र अभिभावक, फूल माला,खादा र दोसल्लाले ढाकिएको शरीर, तिनै माला र खादा समाल्न छेउमा उभिएका पूर्व विद्यार्थीहरू ।
यो दृश्य हो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १२ कोल्मुडास्थित दुर्गा माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नेत्र प्रसाद भण्डारीको बिदाइको ।

यतै कतै एउटै कक्षामा पढेर अहिले कामकाजी भइसकेका पूर्व विद्यार्थीहरूले उठाएको आर्थिक सहयोगमा विद्यालयद्वारा आयोजित यो बिदाइको क्षणमा अनुहारमा कृतज्ञता बोकेर स्फूर्त उपस्थित भएका अभिभावक र स्थानीयहरूले सुभोसित गरे ।
जीवनको ऊर्जावान् समय देशका निमित्त योग्य नागरिकहरू उत्पादन गर्न खर्च गरेका भण्डारीको बिदाइमा विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक,कर्मचारी, अभिभावक र स्थानीयहरूसहित जनप्रतिनिधि पनि भक्कानिए ।
मङ्सिर १८ गते सोमबार आयोजित बिदाइ समारोहमा प्रमुख अतिथि रहेका गोदावरी नगरपालिका वडा नम्बर- १२ का वडा अध्यक्ष भीम बहादुर खड्कासहितका हरेक जसो वक्ताहरूले विकट बस्तीमा बसेर शिक्षाको ज्योति छरेको भन्दै भण्डारीको प्रशंसा गरे ।
उनीहरूले पदबाट अवकाशमा गए पनि विद्यालय र समाजका लागि भण्डारीको सकारात्मक सदैव रहने अपेक्षा व्यक्त गरे । सुगम जिल्ला कैलालीको विकट बस्ती भनेर चिनिने कोल्मुडामा २०२९ सालमा स्थापना भएको यो विद्यालयमा भण्डारी २०३० सालमा शिशु कक्षामा भर्ना भएका थिए ।
२०४६ साल वैशाख ९ गते जिल्ला शिक्षा कार्यालय कैलालीबाट दुर्गा माविको शिक्षकमा सिफारिस भएका भण्डारी २०८२ मङ्सिर १७ गते दुर्गा माविबाटै अनिवार्य अवकाशमा गए । २०२९ देखि नै अध्ययन,अध्यापन सुरु भएको भए पनि सरकारी कागजातहरूमा भने विद्यालयको स्थापित मिति २०३५ साल लेखिएको छ ।
भण्डारीले बिदाइ समारोहमा १ लाख ११ हजार १११ रुपियाँको अक्षयकोष स्थापना गर्ने र सो को ब्याजबाट प्राप्त रकमबाट विद्यालयमा अध्ययन गर्ने न्यून आय स्तर भएका बालबालिकाको शैक्षिक सामग्रीहरूमा खर्च गर्ने बताए ।
यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको मुख्य चुनौती भनेको नै आर्थिक अभाव हो भन्ने बुझेका भण्डारीले थोरै भए पनि राहत पुगोस् भन्ने उदेश्यले नै अक्षयकोष स्थापना गरेको बताए ।
बिदाइको क्षणमा भावुक बनेका भण्डारीले ३७ वर्षे अवधिमा कुनै तितो अनुभव लिनु नपरेको र बाह्रखरी सिकेको विद्यालयकै प्रधानाध्यापकबाट अवकाशमा जान पाउँदा आफूलाई भाग्यशाली महसुस गरेको बताए ।
आफूले घाँटीमा पहिरेको फूल माला गुरु र आमाले गरेको गालीको प्रसाद भएको भण्डारीको भनाई थियो ।
संस्कृतका ज्ञाता समेत रहेका भण्डारी औपचारिक रूपमा बिदा भए पनि उनले छोडेर गएको शिक्षण–संस्कृति, मूल्य, समर्पण र नेतृत्वको छाप भने यही विद्यालयमा सदैव बाँचिरहनेछ ।















