
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै छिन् । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् ।
दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झरेको करिब तीन दशक बितिसकेको छ । पहाडको कठोर जीवन छाडेर सहज जीवनको खोजीमा तराई झर्दा परम्परा पनि हराउँदै गएको थियो ।

द्रोपती धामीलाई भने पहाडको त्यो संस्कृतिको सम्झना अझै ताजा छ । “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ”, उनी सम्झिन्छिन्, “तर तराई झरेपछि बिस्तारै त्यो परम्परा हराउँदै गयो ।”
तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थाल्यो । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरीजस्ता पहिरन लगाउन छाडिँदै गए ।
द्रोपती धामीका अनुसार लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागे । “केहीलाई आधुनिक बन्ने रहर थियो, केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नै भेटिएन”, उनी भन्छिन् ।
परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको ‘छलो’ नृत्यको रौनक पनि हराउँदै गयो । यही अवस्थाले द्रोपतीलगायत केही महिलालाई चिन्तित बनायो । त्यसैक्रममा गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरे । छलो समाज गठन गरियो ।
समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्ना भन्छिन्, “पहिरन सिउन सबैलाई आउँदैनथ्यो, पहाडमा लगाइनेजस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोज्यौँ र सिउन लगायौँ ।”
अहिले ती महिलाहरू सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेका छन् । परम्परागत पहिरनमै छलो नृत्यसमेत देखाउने गर्दछन् ।














