
अत्तरिया – सुदूरपश्चिम प्रदेशकाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार यस प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र रहेका छन् । १६ वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको भट्टले बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन हुँदै छ । सोहि प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको थियो ।
भट्टका अनुसार प्रदेशभरी एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ ।
१७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन् ।
विसं २०७९ को निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६२९ मतदाता थिए ।
२० हजार ७२७ प्रहरी परिचालन गरिँदै
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ।
निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गर्न लागिएको हो।
परिचालन गरिनेमध्ये सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी खटिने छन्, हरेक मतदान केन्द्रमा तीन प्रहरी सङ्ख्या बराबर पाँच जनाका दरले निर्वाचन प्रहरी परिचालित हुनेछन् ।
यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको कार्यालयका प्रहरी प्रवक्ता मिश्रले बताए ।
प्रदेशका सबै नौ जिल्लामा ३०२ मतदानस्थललाई सामान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सोहीअनुसारको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ ।
निर्वाचनका लागि प्रदेशभर एक हजार १७८ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ।
प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र डडेलधुरामा एक/एक गरी १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।













