
काठमाडौं – इरानले ड्रोनमार्फत दुबईका बैंक र वित्तीय ठेगानाहरूलाई निसाना बनाउन सुरु गरेको छ।
बिहीबार यस क्षेत्रमा एउटा ड्रोन खसेपनि कोहीपनि घाइते नभएको बताइएको छ। तर, यसले जारी युद्धको असर अब दुबईको व्यापार र बैंकिङ क्षेत्रमासमेत पार्ने संकेत गरेको छ। इरानले अमेरिका र इजरायलको आक्रमणको जवाफमा आफूले पश्चिमी बैंकहरूलाई निसाना बनाउने बताएको छ।

अमेरिकी बैंक ‘सिटीबैंक’ले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका आफ्ना अधिकांश शाखाहरू अस्थायी रूपमा बन्द गरिरहेको छ। कर्मचारीहरूले अहिले टाढैबाट काम गरिरहेको बताएको छ। यस क्षेत्रका अन्य धेरै बैंक र व्यवसायहरूले पनि यस्तै कदम चालिसकेको बताइएको छ।
बिहीबार बिहान जब ड्रोन दुबईको आकाशमा उडिरहेको थियो, तब कुनैपनि खतराको सूचना जारी नभएकाले इरानका मिसाइल वा ड्रोनहरू राडारको पकडबाट बच्नसक्ने संकेत गर्ने बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार जितनजिकै रहेको दाबी गरिरहेका छन्। तर, इरानले अमेरिका र उसका खाडी सहयोगी राष्ट्रहरूलाई आर्थिक र अन्य माध्यमबाट क्षति पु¥याइरहेको छ। यी देशहरू अहिले त्यस्तो युद्धमा घेरिएका छन्, जसको सुरुआत ट्रम्पले गरेका थिए।
इरानले पश्चिमका महत्वपूर्ण क्षेत्रहरूलाई क्षति पु¥याउन विभिन्न दिशाबाट आक्रमण गरिरहेको छ। यसअन्तर्गत तेल, ढुवानी र बैंकिङ क्षेत्रलाई विशेष निसाना बनाइएको छ। दुबई पनि ती ठाउँहरूमध्ये एक हो, जुन अहिले इरानी हमलाको जोखिममा छ।
















