धनगढीका २१ सामुदायिक विद्यालयमा एकीकृत भान्साघरबाट दिवा खाजा

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ ।

साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्म रहेका २१ सामुदायिक विद्यालयका करिब चार हजार विद्यार्थीलाई यही भान्साघरमा तयार गरिएको खाजा वितरण गरिने भएको हो ।

nisarga

उपमहानगरपालिकाका अनुसार ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ जना विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन् ।

वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरमा भने कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई यसै भान्साघरबाट खाजा उपलब्ध गराइनेछ ।

धनगढी-७ तिल्केचोकमा निर्माण गरिएको एकीकृत भान्साघरको शनिबार आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मोति राना थारूले उद्घाटन गरे ।

कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा २ करोड ४५ लाख ३३ हजार २९ रुपैयाँको लागतमा भान्साघर सञ्चालनमा ल्याएको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ विद्यालयबाट सुरु गरिएको एकीकृत दिवा खाजा कार्यक्रम आगामी वर्षहरूमा पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको जनाएको छ ।