
अत्तरिया – सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पौराणिक तीर्थस्थल कैलालीको गोदावरी धाममा हरितालिका तीजको दोस्रो दिन भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा मंगलबार बिहानैदेखि गोदावरी धाममा स्नान तथा पूजाआजा गर्न श्रद्धालु महिलाहरुको घुइँचो लागेको हो ।

धाममा पुगेका श्रद्धालुहरूले गोदावरी नदीमा श्रद्धापूर्वक स्नान गरी आ-आफ्ना नित्यकर्म तथा धार्मिक विधिअनुसार पूजाआजा गरिरहेका छन्।
तीजको अवसरमा पवित्र नदीमा स्नान गरी भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
तीज पर्वका अवसरमा विवाहित तथा अविवाहित हिन्दु नारीहरूले भगवान् शिवको पूजा-आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा श्रीमानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ।

















