छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा हुने

Image
maya metro

कञ्चनपुर – छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । फागुन १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ । कञ्चनपुरका नौ वटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसीराम चौधरी, हवल्दार चौधरी, जितबहादुर चौधरी र मेवाराम चौधरी सदस्य रहेका छन् ।

nisarga

सम्मेलन सम्पन्न गर्नका लागि थारू कल्याणकारी सभा कञ्चनपुर, स्थानीय आयोजक तथा थारू लेखक संघको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको संघका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए ।

जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । थारू साहित्य सम्मेलनमा थारू समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिबारे गहन छलफल हुने छ । सम्मेलनका लागि १० लाख रूपैयाँ खर्च लाग्ने बताइएको छ ।

‘थारू समुदायका लेखकहरुले अरुको दर्शन र शास्त्रबाट प्रभावित भएर लेख रचना लेख्दै आएका छन‚’ थारू बुद्धिजिवी बलबहादुर डगौराले भने, ‘सम्मेलनमा थारू शास्त्रको खोजी गरी त्यसकै आधारमा लेखन केन्द्रित गर्नका लागि समेत गहन छलफल हुनेछ ।’

साहित्य ज्ञानको बिषय, मनोविज्ञान र राजनीतिको सन्दर्भका रुपमा रहेको चर्चा गर्दै उनले लेखन दृष्टिकोणले दिशा निर्धारण गर्नुपर्ने बताए । सम्मेलनमा देशभरिका थारू साहित्यकार, बुद्धिजीवी र लेखकहरुको जमघट हुने बताइएको छ ।