कैलाली स्कुल डान्स कम्पिटिसनको उपाधि सत्यवती एकेडेमीकी डीजी बोहरालाई

Image
maya metro

अत्तरिया – कैलाली जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसन सिजन–३ को उपाधि सत्यवती एकेडेमीमा कक्षा ७ मा अध्ययनरत डीजी बोहराले जितेकी छन्। गोदावरी नगरपालिका–३ मालाखेतीकी बोहराले शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएकी हुन्।

प्रतियोगितामा गोदावरी पब्लिक स्कुलमा अध्ययनरत गोदावरी नगरपालिका–४ की प्रियङ्का मल्ल प्रथम रनरअप भएकी छन्। त्यस्तै, मोहना मल्टेश्वरी स्कुलमा अध्ययनरत गोदावरी नगरपालिका–११ ओलानीकी एलिजा धामी दोस्रो रनरअप बनेकी छन्।

nisarga

यसैगरी, गोदावरी नगरपालिका–२ की सृष्टि बिसी चौथो र गोदावरी नगरपालिका–३ खमौराकी सुदिक्षा ताम्राकार पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।

वन वे डान्स क्याम्पको आयोजनामा गत साउन ८ गतेदेखि सुरु भएको प्रतियोगिताको तेस्रो संस्करणमा कैलाली जिल्लाभरका विभिन्न विद्यालयबाट ६ सय विद्यार्थी सहभागी भएका थिए। विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै १६ जना फाइनलमा प्रवेश गरेका थिए। अन्तिम चरणमा विजेता छनोट शतप्रतिशत भोटिङका आधारमा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम भएकी बोहराले नगद ५० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। त्यस्तै, द्वितीय भएकी प्रियङ्का मल्लले ३० हजार १५१ रुपैयाँ र तृतीय भएकी एलिजा धामीले २० हजार १५१ रुपैयाँ प्राप्त गरेकी छन्। चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई समेत सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताले कैलालीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो नृत्य प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। विशेषगरी गोदावरी क्षेत्रका विद्यार्थीहरूको उल्लेख्य सहभागिताले स्थानीयस्तरमा कला र संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ।