कञ्चनपुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रबाट २ दशमलव ६७ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

बेलडाँडी गाउँपालिका–३, बैवाहस्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट बेलौरी नगरपालिका–९ अन्डैयाका २४ वर्षीय दिनेश चौधरी पक्राउ परेका हुन्।

nisarga

सोमबार राति करिब १० बजे भारतको पिलिभित जिल्लाअन्तर्गत टाटरगञ्ज कम्पोज नगरसँग जोडिएको सीमा क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका चौधरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले रोकेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा उनको कपडाको खल्तीमा लुकाइराखेको २.६७ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बीओपी झिलमिलाका सशस्त्र प्रहरी नायब निरीक्षक मानबहादुर थारु र प्रहरी चौकी झिलमिलाका प्रहरी सहायक निरीक्षक वीरेन्द्र सिंह विष्टको नेतृत्वमा खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

चौधरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ।