
काठमाडौं – नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको तेस्रो संस्करण आज सुरु हुँदैछ।
पहिलो दिन नै रोमाञ्चक र उच्च प्रतिस्पर्धात्मक खेल हुनेछ। साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्न लगेका हुन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे ५ बजे सुरु हुनेछ। कुल ८ टोली सहभागी यसपटक विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ।

यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख तथा चौथो हुने टोलीले ३० लाख रूपैयाँ पाउनेछन्। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
आजको खेलका दुई टोली कस्ता ?
लुम्बिनी लायन्स
साबिक विजेता लुम्बिनीमा ब्याटिङ र बलिङ दुवै पक्षमा गहिराई देखिन्छ । दबाबको स्थितिमा उत्कृष्ट प्रदर्शन गर्न, खेललाई अन्त्यसम्म लैजान र ठूला मञ्चमा अनुभवको गतिलो प्रयोग गर्न लुम्बिनी माहिर छ।
राष्ट्रिय टोलीका पूर्व कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीमा घरेलु क्रिकेटका हस्तीहरु आसिफ शेख, शेर मल्ल र सन्दीप जोरा छन् । गत संस्करण टोलीलाई उपाधि दिलाउँदा महत्वपूर्ण भुमिका खेलेका रुबेन ट्रम्पलमेन, डार्सी सर्ट, निरोशन डिक्वेला जस्ता विदेशी खेलाडीको निरन्तरताले टोली सन्तुलित देखिन्छ। च्याम्पियन मनस्थिति सहितको आत्मविश्वासलाई कायम राख्दै सुरुवाती ओभरबाटै विपक्षी टोलीमाथि दबाब सिर्जना गर्ने लुम्बिनीको मुख्य लक्ष्य हुनेछ।
सुदूरपश्चिम रोयल्स
सुरुवाती दुवै संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद महत्वपूर्ण खेलमा धर्मराएको सुदूरपश्चिम यस पटक निराशाको श्रृंखला तोड्ने लक्ष्यमा छ।
टोलीका रणनीतिक योजनाकार र खेलाडीहरु गत वर्षको कमी कमजोरी सुधार गर्दै यस पटक उत्कृष्ट सुरुआत गर्न चाहन्छन् । घरेलु क्रिकेटका सफल कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको टोलीमा विनोद भण्डारी, अभिनाश बोहोरा, आरिफ शेख, इशान पाण्डे र हेमन्त धामी जस्ता उत्कृष्ट खेलाडीहरु छन्।
अघिल्ला २ संस्करण देखिएको अभाव पूर्तिका लागि टोलीले स्कट कुग्लेइनलाई निरन्तरता दिँदा चितवनबाट खेलेका सैफ जैब सहित विश्व क्रिकेटका हस्तीहरु हैदर अली, ब्राण्डन म्याकमुलन र शेरफेन रदरफोर्ड जस्ता खेलाडीलाई समावेश गरेको छ।
टोली पावरप्लेको सदुपयोग र मध्य ओभरमा विपक्षीको साझेदारी टोड्ने रणनीतिसहित पहिलो खेलबाटै आफ्नो बलियो उपस्थिति देखाउने तयारीमा छ।
हेड टु हेड
एनपीएलको इतिहासमा लुम्बिनी र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक हुने गरेको छ । अहिलेसम्म यि दुईबीच ३ पटक भेट भएकोमा लुम्बिनीले १ र सुदूरपश्चिमले २ खेल जितेको छ । पहिलो संस्करण लिग चरणमा भएको भेटमा सुदूरपश्चिम ४५ रनले जित्दा दोस्रो संस्करणको लिग चरणको भिडन्तमा ७ विकेटको जित हासिल गरेको थियो।
तर फाइनलमा लुम्बिनीले सुदूरपश्चिम माथि ६ विकेटको जित हासिल गर्दै उपाधि जितेको थियो । निर्णायक खेलमा लुम्बिनीले ब्याटिङ बलिङ र फिल्डिङमै पूर्ण रुपमा दबाब बनायो ।
त्रिवि मैदानको पिच सामान्यतया ब्याटिङ र बलिङ दुवैका लागि सन्तुलित मानिन्छ। नयाँ बलले खेलको सुरुवाती चरणमा पेस बलरलाई केही मद्दत गर्न सक्छ भने खेल अघि बढ्दै जाँदा स्पिनरको भूमिका महत्त्वपूर्ण हुनेछ। यस्तोमा लुम्बिनी आफ्नो विजेताको विरासत जोगाउन चाहन्छ भने सुदूरपश्चिम गत वर्षको अधुरो सपना पूरा गर्न विजयी सुरुवातको दाउमा छ।
विजेतालाई एक करोड ५० लाख
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले एनपिएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिए । यसै गरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ प्राप्त गर्ने छन् । यो पुरस्कार रकम गत संस्करणको भन्दा धेरै हो।
गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपियाँ पाएको थियो। यसपालि एनपिएलमा एक महिनाको अवधिमा १५० करोड रुपियाँको कोराबार हुने जानकारी दिए। कोषाध्यक्ष खड्काका अनुसार प्रायोजनबाट १८ करोड र टिकट बिक्रीबाट ७० देखि ७५ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ।
पहिलो पटक आइसिसीको आधिकारिक मान्यता
तेस्रो एनपिएलको आइसिसीबाट प्राप्त आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो । यसबाट विदेशी खेलाडीहरूको अनुबन्ध लचिलो भएको छ । फलस्वरूप यसपालिको एनपिएलमा स्टार खेलाडीहरू धेरै छन्।
तीमध्ये अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएलको रौनक अझ बढेको छ ।
डीआरएसको प्रयोग
यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डीआरएस) को प्रयोग हुने छ। अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा प्रविधिको सहायता लिइने छ।
विशेष, एलबिडब्लु, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एक पालिमा दुई वटा असफल ‘रिभ्यु’ लिन पाउने छन्। डिआरएसको प्रयोग हुने भएपछि क्यानले खेल तालिकामा पनि परिवर्तन गरेको छ।































