
काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गत बतास फाउण्डेसनले नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई सल्लाहकारबाट हटाएको छ। लामो समयदेखि उक्त फाउण्डेसनको सल्लाहकार रहेकी उनको तस्बिरसमेत फाउण्डेसनले आफ्नो वेबसाइटमा राखेको थियो। तर, अहिले भने आरजुको तस्बिर र सल्लाहकार पद नै हटाइएको छ।
यसअघि आज दिउँसोसम्म उनको नाम र तस्बिर एडभाइजर समूहमा थियो। तर, अहिले भने आरजुको नाम र फोटो हटाएर अन्य तीन जनाको मात्र राखेको छ। अहिले क्रिस वार्डेल र खेमराज उपाध्यय एडभाइजरको रूपमा छन् भने डा सुमन के कर्ण भोलेन्टियर छन्। यतिबेला बतास समूह चर्चामा छ। नारायणहिटी दरबार संग्राहलय परिसरभित्र बतास समूहले रेस्टुरेन्ट सञ्चालन गर्दैछ। त्यसका लागि अहिले भवन निर्माणको काम तीव्र गतिमा चलिरहेको छ। तर, चर्को विरोधपछि भने हिजोबाट निर्माण कार्यमा रोक लागेको छ।

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।












