एमाले चुनाव : मतदातासँग भोट मागिरहेका उम्मेदवारको नाम मतपत्रमा नभेटिएपछि …

Image
maya metro

महेन्द्रनगर – नेकपा एमाले कञ्चनपुरको ८औं जिल्ला अधिवेशन अन्तर्गत मंगलबार मतदान भयो । सोमबार उम्मेदवारी दर्ता गरिएपछि मंगलबार उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशित भएको थियो ।

उम्मेदवारको अन्तिम नामावलीमा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ बाट प्रतिनिधि रहेका सरोज चन्दको नाम समेत थियो । जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराएअनुसार चन्दको नाम उम्मेदवारको अन्तिम नामावलीमा समेत समेटिएको थियो ।

nisarga

दाबीविरोध केही नपरेको र उम्मेदवारी फिर्ता समेत नभएको अवस्थामा उम्मेदवारको अन्तिम नामावलीमा नाम आएपछि उनी प्रचारप्रसारमा लागेका थिए । उनले मतदातालाई भेटेर भोट समेत मागे ।

जब मतदान सुरु भयो, त्यतिबेला उनी झसङ्ग भए । मतदान गरेर फर्किएका मतदाताले ‘तपाईंको नाम मतपत्रमा भेटिएन’ भनेर चन्दलाई जानकारी गराए ।

मतदाताको कुरा सुनेपछि उनले सोधखोज गरे । साँच्चिकै उनको नाम मतपत्रमा भेटिएन । ‘मैले उम्मेदवारी दर्ता गराएको हो, उम्मेदवारको अन्तिम नामावलीमा मेरो नाम थियो तर मतपत्रमा कसरी हट्यो थाहा भएन,’ उनले गुनासो गरे ।

जिल्ला अध्यक्ष पदमा दुवै उम्मेदवार सुरेन्द्रबहादुर विष्ट र वीरबहादुर थापा ‘पातल’ले यसमा विवाद नगरी सहमतिबाट समाधान निकाल्ने आश्वासन दिएपछि आफूले विवाद नगरेको चन्दले बताए । ‘मेरा कारणले पूरै निर्वाचन प्रभावित नहोस् भनेर मैले विवाद गरिनँ,’ उनले भने ।

कूल ४९९ मतदाता रहेकोमा मंगलबार मध्यराति सकिएको मतदानमा ४७० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।